अलैँचीको भाउ प्रतिकिलो १६५० पुग्यो, ३९ अर्ब ६० करोड रुपैयाँ नेपाल भित्रँदै

अलैँचीको भाउ प्रतिकिलो १६५० पुग्यो, ३९ अर्ब ६० करोड रुपैयाँ नेपाल भित्रँदै


  • सुरेन्द्र सुवेदी, काठमाडौं

‘कालो सुन’को उपमा दिइएको अलैँचीको मूल्य यतिबेला बढिरहेको छ । विगतको तुलनामा यसवर्ष मूल्य अधिक बढेर एक किलोग्रामकै १ हजार ६ सय ५० रुपैयाँ पुगेको हो । एक मन (४० किलोग्राम) को ६६ हजार रुपैयाँमा किनबेच भइरहेको छ । केहअघि यसको मूल्य प्रतिकिलो ७ सय रुपैयाँ थियो ।

नेपालका १६ जिल्लामा अलैँची उत्पादन हुन्छ । जम्मा उत्पादन ६० लाख किलो हुन्छ । यो वर्ष देशमा ३९ अर्ब ६० करोड विदेशी मुद्रा अलैँची निकाशीबाट भित्रनेछ । अलैँची पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा, इलाम र पाँचथरमा अधिक उत्पादन हुन्छ ।

नेपाल अलैँची व्यवसायी महासंघका पूर्व अध्यक्ष राजकुमार कार्कीका अनुसार देशमा १ लाख कृषक अलैँची खेतीमा आवद्ध छन् । अहिले कृषकहरू बाँझो खेत, बारी र अन्य बाली उत्पादन हुने जग्गामा पनि अलैँची रोप्न थालेका छन् ।

अहिले मूल्य वृद्धि हुनुको कारण उत्पादन घटेको पूर्वअध्यक्ष कार्कीले बताए । उनका अनुसार यहाँ उत्पादन भएको अलैँची ९५ प्रतिशत भारत निकासी हुन्छ । बाँकी बंगलादेश हुँदै तेश्रो मुलुक पुग्ने गरेको छ ।

अलैँची बढीमात्रामा मसला बनाउन प्रयोग हुन्छ । त्यसपछि आयुर्वेदिक औषधि, अत्तरजस्ता चिज बनाउन प्रयोग हुँदैआएको छ ।

बजार राम्रो भएपछि हाल उत्पादन भइरहेका १६ जिल्लाबाहेकका कृषक पनि अलैँची रोप्न थालेका छन् । अहिले जाजरकोट, रोल्पासमेतका जिल्लाका कृषक पूर्वबाट बिरुवा लगेर रोप्दै आएका छन् । पहाडी क्षेत्र र चिस्यान भएको स्थानमा अलैँची खेती हुन्छ ।