रुपन्देहीमा पक्राउ गरिएको माछा नवलपरासीकै भएको पुष्टि

रुपन्देहीमा पक्राउ गरिएको माछा नवलपरासीकै भएको पुष्टि


बेलाटारी प्रहरीलाई बदनाम गर्न खोजिएको आरोप

  • रविन्द्र यादव, पश्चिम नवलपरासी

रुपन्देहीको रोहिणी गाउँपालिका-३ धकधइमा नेपाल प्रहरीले पक्राउ गरेको सुकेको शिद्रा माछा नवलपरासीकै भएको पुष्टि भएको छ । मंसिर १० गते धकधइमा चेकजाँचको क्रममा लु २ च ८५४६ नम्बरको पिकअपमा २४ बोरा करिब १२ सय किलोग्राम सुकेको शिद्रा माछा प्रहरीले बरामद गरेको थियो ।

प्रहरीले सुरुको अनुसन्धानमा भारतीय माछा भएको पुष्टि गरेपनि अहिले त्यो माछा नवलपरासी पश्चिम जिल्ला सुस्ता गाउँपालिका वडा नं २ सतपत्तीको लक्ष्मी एकीकृत कृषि फर्मको रहेको उक्त फर्मका संचालक विजय चौधरीले दाबी गरेका हुन् । चौधरीले आफ्नै फर्ममा उत्यपादन गरिएको माछालाई प्रहरीले भारतीय माछा भएको पुष्टि गरेकोमा दुःख व्यक्त गरेका हुन् ।

उनले अनुसन्धानको क्रममा भेटेरिनरी परासीका डाक्टर निरज पासवान र भैरहावा भेटेरिनरी कार्यालयका प्रमुख भक्त न्युरेले स्वयम् स्थलगत अनुसन्धान गरि स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त माछा नेपालकै भएको र ठीक साँचो प्रमाणित पशुपंक्षी तथा पशुपंक्षीजन्य पदार्थ ऐनअनुसार निरीक्षण गरेको र, यसमा कुनै किसिमको कुनै पनि सर्ने खालको संक्रमित रोग नभएको पुष्टि र ओसारपसार तथा बिक्री वितरण गर्न योग्य रहेको जानकारी दिए ।

उक्त माछा नवलपरासी पश्चिम जिल्लाको रामनगर नाकाबाट अवैध रुपमा भित्रिएको विभिन्न समाचार माध्यममा प्रकाशित भएको थियो । माछा किन्ने व्यापारी कपिलवस्तुका बिशु मुसलमानले पनि नवलपरासी पश्चिम जिल्लाको सुस्ता गाउँपालिका–२ सतपत्ती स्थित लक्ष्मी एकीकृत फर्मबाट किनेको बताएका हुन् ।

अहिले भेटेरिनरी परासी र भैरहवाले उक्त माछा स्थानीय जनप्रतिनिधिको रोहबरमा अनुसन्धानको क्रममा सुस्ता–२ लक्ष्मी एकीकृत फर्ममा उत्यपादित भएको पुष्टि गरेपछि सत्यतथ्य कुरा बाहिरिएको हो । प्रहरीलाई बदनाम गर्नेगरि केही तत्व लागिपरेको स्थानीयहरुले बताउछन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले आफ्ना मातहतका सम्पुर्ण इलाका प्रहरी, प्रहरी चौकी तथा चेक पोष्टलाई अवैध तस्करी नियन्त्रण गर्नलाई कडा निर्देशन दिँदै आएका छन् ।

आचार्यले निर्देशनविपरीत कार्य गर्नेलाई विभागीय कार्यवाही गर्दै आएको प्रहरीका एक अधिकारीले जानकारी दिए । यता इलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख श्यामप्रकाश यादवले आफ्ना मातहतका सम्पुर्ण प्रहरी चौकी तथा चेक पोष्टलाई अबैध चोरी पैठारी तथा तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएको प्रहरी स्रोतले बताएको छ । उनी इलाका प्रहरी कार्यालय बेलाटारीका जिम्मेवारी निर्वाह गरेदेखि इलाकाभित्रका स्थानीय जनतालाई शान्ति सुरक्षा तथा प्रहरी हाम्रो साथी भएको महसुस हुने गरेको स्थानीय सुस्ताका महातम बिनले प्रतिक्रिया दिए ।

निरीक्षक यादवले केही व्यक्तिले आफुलाई बदनाम गर्न लागि परेको दाबी गरे । इलाका प्रहरी कार्यालय बेलाटारीमा कार्यरत प्रहरी सहायक हवल्दार रमेश यादव घुमुवा नभई आफ्नो प्रहरीको कर्तव्य निर्वाह गरिरहेको बेलाटारी प्रहरीको भनाइ छ । उता रामनगर प्रहरी चौकीका इन्चार्ज पुरन केवटले रुपन्देहीमा बरामद गरिएको सुकेको शिद्रे माछा रामनगर नाकाबाट नगएको जिकिर गर्दै आएका थिए । गेर्मी प्रहरी चौकीका सहायक हवलदार ओमप्रकाश यादवले घुमुवा नभइ समान्य प्रहरीको ड्युटी गर्दै आएको उक्त चौकीका प्रमुख इन्चार्ज ब्रिजेश निषादले बताए ।

उता जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा कार्यरत प्रहरी सहायक हवल्दार किरन कुँवर र प्रहरी जवान प्रदिप गुप्ता जिल्ला घुमुवा नभइ सुचना संकलन तथा फरार प्रतिवादीलाई पक्राउ गर्नका लागि खटाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।