सबै पार्टीभित्र सयौँ नेता छन्, तर ती सबै अहिले नालायक सावित भइसके । संविधान बन्यो, तर त्यो कसरी दीगो बनाउने ? कुनै ‘माइका लाल’ निस्कन सकेनन् ।
✍ सुरेन्द्र सुवेदी
अहिले देश राजनीतिक तरलताकै कारण अधोगति यात्राको मार्गमा यात्रारत छ । यो यात्राको गन्तव्य र उद्देश्य पत्तो छैन, र पनि रथ भने जनताका अघि असक्षम भइसकेका नेपाली कांग्रेस, माओवादी, समाजवादी, जातीय र क्षेत्रीय दल मधेशी अनि ‘झरेपछि खाउँला’ भनी माधव नेपाल जस्ता नेताहरुबाट खोलिएका ‘स्यालहुँइया’ प्रकृतिका टुक्रे दलहरूको हातमा छ ।
यो यात्राको मुख्य नायक कानुनको रक्षक भनिने सर्वाेच्च अदालत हो । दल विघटन गर्नेदेखि तोकेरै सरकार बनाउनु भन्ने कानुनविपरीत निर्णय गरेर नेपाली जनता र सार्वभौम सत्ताविपरीत निर्णय गर्ने देशकै उपल्लो न्यायपालिका हो । र, यसकै कारण देश अहिले अधोगतिमा गइरहेको छ ।
अब के गर्ने त ? प्रश्न उठेको छ । कांग्रेस, माओवादी अर्थात् जनताको भाषामा खाओवादी र मदेशीदेखि पदका लागि जे पनि गर्ने पदलोलुप माधवकुमार नेपालसम्म देशलाई लुट्न तयार थिए, लुटे र लुटिरहेका छन् । जनताका हातमा एक रुपैयाँ नभएर घरजग्गा साहुकोमा धितो राखेर खाडी मुलुक पठाएर छोराछोरीको पीरमा दिनरात नभनी छटपटिइरहेका देशका अग्रज नागरिकहरूको अवस्था सबैलाई जानकारी नै छ । आफ्ना सन्तान ‘बाकसमा आउनु नपरोस्’ भनेर दैनिक पूजापाठ गर्ने बुबाआमाको ध्याउन्नबीच लुटमा मस्त सरकार रोम जल्दा बाँसुरी बजाइरहेका लुई चौधौंको रूपमा रहिरहेको र रहिरहने आभास बालबालिकादेखि वृद्धवृद्धासम्म छ ।
मधेशी दल र तिनका नेतालाई सत्ता भए पुग्छ । त्यसका लागि दर्जनबढी दल निर्माण गरिसकेका उनीहरू देशका समस्या सम्बोधन गर्दै अघि बढ्ने भन्दा समग्र मधेशलाई एक प्रदेशमा सीमित राखेर त्यो भारतलाई बुझाउने लक्ष्यमा थिए । तर, उनीहरुको लक्ष्य तत्काल पूरा भएको छैन । अब ८ जिल्लामा खुम्चिएको मधेश प्रदेश कुनै न कुनै दिन भारतमा गाभिन्छ, भन्ने मधेशीहरूको चाहना सायदः पूरा नहोला ।
नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद भुत्ते भइसकेको छ । राजा ज्ञानेन्द्रबाट पटक-पटक धोका भएको महसूस भएपछि गिरिजाप्रसाद कोइरालाको एकल निर्णयबाट गणतन्त्रमा गएको कांग्रेस त्यसपछि कुनै प्रष्ट नीति र कार्यक्रम ल्याउन नसकेपछि उसबाट केही हुने अपेक्षा गर्न सकिन्न । राजाको पक्षमा वकालत गर्ने राप्रपा, राप्रपा नेपाल र गणतन्त्रमा आउन बाध्य भएका केही टुक्रे समूहको आश गर्नु पनि व्यर्थ नै हुन्छ । यथास्थितिवादमा रमाउने ती दलले देशका जल्दाबल्दा समस्या समाधान गर्न सक्दैनन् नै ।
भरखरै खोलिएको राष्ट्रिय स्वतन्त्र पार्टीको केहीलाई विश्वास भए पनि योभन्दा घातक अरु दल नहुने सभापति रवि लामिछानेको चरित्रका जानकारहरू बुझ्दछन् । सामान्य टेलिभिजनमा कार्यक्रम चलाएर चर्चामा आएको र सहकर्मीहरूको मृत्युसम्म हुँदा पनि संवेदनहीन रहेका उनी आत्महत्या दुरुत्साहनको मुद्दा लागेर प्रहरी हिरासत बस्नुपरेको यथार्थ मनन गर्दा यस्ता पात्रहरूबाट देशलाई कस्तो दिशा मिल्ला, अनुमान गर्न सकिन्छ । त्यसमाथि दोहोरो नागरिकता लिएर पनि उल्टै देशभक्तिको ढोँग गर्न सक्ने ढोँगी व्यक्तिले आफ्नो स्वार्थका लागि कतिबेला राष्ट्रघाती निर्णय लिने हुन्- यसै भन्न सकिन्न । यस्ता पात्रहरूको दलबाट कुनै अपेक्षा गर्ने ठाउँ देखिन्न । सर्वसाधारण सोझासाधा नेपालीहरू केही समय भ्रममा परेर बहकिनु बेग्लै कुरा हो । एक न एकदिन वास्तविकता त उजागर भइहाल्छ । यस्ता ढोँगी पात्रहरूको मुकुण्डो उत्रिहाल्छ ।
यस्तै, पुरानो दल भनिएको एमालेको द्वैध चरित्रकै कारण उसलाई यतिबेला आफ्नो पहिचान जोगाउन धौ-धौ परिरहेको छ । पार्टीभित्र प्रष्ट पहिचान बनाउन नसकेर तेश्रोलिंगी उपमा पाइसकेको एमालेले पनि ‘भित्ता नाप्न’ सक्दैन भन्ने निचोडमा जनता पुगिसकेका छन् । एमालेको परिवर्तनको नाम दिने तर केही गर्न नसक्ने उसको विगत र वर्तमानले त्यो पार्टीभित्र जनताका समस्या सम्बोधन गर्ने नेताको अभाव प्रष्टिन्छ ।
सबै पार्टीभित्र सयौँ नेता छन्, तर ती सबै अहिले नालायक सावित भइसके । संविधान बन्यो, तर त्यो कसरी दीगो बनाउने ? कुनै ‘माइका लाल’ निस्कन सकेनन् । हुँदाहुँदा १० अर्ब बढी बैंकको ऋण लिएर तिर्न नपरोस् भनेर मेडिकल व्यवसायी दुर्गा प्रसाईं जनता उरालेर सडक तताउँदैछन् । तर, उनको आन्दोलन पनि स्यालको हुँइयाजस्तै छ । कुनै ठोस नीति, लक्ष्य र नेतृत्वबेगरको आन्दोलन ‘तीन महिनामा तुहिएको बाख्रो’को हालतमा पुगेको छ ।
कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मासँग केही आशा नेपाली जनताको थियो । तर, उनीहरूको बौद्धिकता र व्यवहार हेर्दा ती पनि ‘व्यवसायको बहानामा १२ करोड रुपैयाँ लिएर बाख्रा पाल्ने’सम्मका मात्र देखिए ।
जनताका अभावबीच सत्ताको आडमा लुट्ने र खाने भन्दा केही गर्न नसकेका नेताले भविष्यमा कुनै चमत्कारी काम गर्लान् भन्नेमा एक प्रतिशत पनि जनता आशावादी छैनन् । अब देशमा बेथिति रोक्न सक्ने सपूत आवश्यक भइसकेको छ, जो निरंकुश होस् तर इमान्दार ! देश, जनतालाई लुटेर महल ठड्याउने, घुस र कमिसनको रकम बैंंकमा ब्यालेन्स गर्ने नभएर जनताका लागि बुद्धि, बल र विवेक खर्च गर्ने सपूत देशले खोजेको छ ।
त्यस्तो सपूत नेपालआमाले अब एकपटक जन्माउनैपर्ने समयको माग छ, जो बेथितिविरुद्ध कडा रुपमा प्रस्तुत हुन सकोस् । जताततैका सिण्डिकेट, लुटपाट, लापरवाहीसमेतलाई निर्मूल गर्न सक्ने निरंकुश नेताको विकल्प अब छैन । त्यसका लागि हामी सबैले अहिलेका ‘नालायक’हरूलाई किनारा लगाउँदै नयाँ सच्चा नेता देशले जन्माउने कामना गरौँ ।
प्रतिक्रिया