प्राधिकरणले प्रतिस्पर्धाबाट ‘ग्राउण्ड ह्याण्डलिङ’ सेवा गराउने भएपछि निगम थप कमजोर बन्ने सम्भावना

प्राधिकरणले प्रतिस्पर्धाबाट ‘ग्राउण्ड ह्याण्डलिङ’ सेवा गराउने भएपछि निगम थप कमजोर बन्ने सम्भावना


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ‘ग्राउण्ड ह्याण्डलिङ’ कार्य (भूमिस्थ प्रबन्ध सेवा) प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ ।

हाल नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि अन्य एयरलाइन्सले पनि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको र तत्काल उक्त प्रक्रिया सुरु हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।

प्राधिकरणको यो निर्णयसँगै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसिन सक्ने अनुमान गरिएको छ ।

प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो ।

‘मापदण्ड पुगेका एयरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको प्रतिस्पर्धामा भाग लिन पाउनेगरी निर्णय भएको छ, यसले नयाँ एयरलाइन्सले पनि अवसर पाउछन्’, प्रवक्ता निरौलाले भनेका छन् ।

निगमको मुख्य आम्दानीको स्रोत रहेको ग्राउण्ड ह्याण्डलिङ सेवा बन्द भएमा निगम थप आर्थिक रुपमा कमजोर हुने जनाइएको छ ।