सहकारीमा कार्यरत कर्मचारीहरू अहिले बचतकर्ता देख्नेबित्तिकै भाग्छन् । बैंक तथा लद्युवित्तका बचतकर्ताको पनि यही हालत हुने आशङ्का पैदा भएको छ । आम सर्वसाधारण निराश छन् । मुलुक आर्थिक दृष्टिले डुबिसकेको उनीहरू बताउँछन् । अर्थमन्त्री र प्रधानमन्त्री भने अझै पनि अर्थतन्त्र ठिकठाक छ भन्दै भाषण गरेर हिँड्छन् ।
✍ अनुशा थापा
महालेखा परीक्षकको कार्यालयका अनुसार मुलुकको आम्दानी भन्दा खर्च बढी रहेको छ । जनताले कर तिर्न छोडिसकेका छन् । बजार पूरै मन्दीमा छ । व्यापार-व्यवसाय ठप्प छ । घरजग्गा, गाडी र सेयरको कारोबारमा भारी गिरावट आएको छ । होटल, रेस्टुरेन्टु, कपडा, किराना पसल समेतमा मन्दीको प्रभाव देखिएको छ ।
बाटोमा मानिसको चापसमेत कम भइरहेको छ । भाडाका घरहरू खाली भइरहेका छन् । सटर, कोठा र फ्ल्याट भाडामा लिएर व्यापार गर्ने तथा बसोबास गर्दै आएकाहरू गाउँ फर्किएका छन् । मालपोत र यातायात कार्यालय पनि सुनसान छ । सिडियो कार्यालय र एयरपोर्टमा भने युवाहरूको भीड देखिन्छ ।
मुलुकको अर्थतन्त्र श्रींलकाको अवस्थामा पुगिसक्यो भनेर सर्वसाधारणले अनुमान लगाउन थालेका छन् । पसल खोल्यो बोहनीसम्म हुन्न । काम गर्न खोज्यो काम पाइन्न । काम गरेको ठाउँमा फेरि तलब पाइँदैन । यसले गर्दा चोरी, लुटपाट, डाँका/डकैतीलगायतका घटना हवात्तै बढ्ने जो-कोहीको मुखबाट सुन्न थालिएको छ ।
यस्तो बेला अर्थमन्त्री डा. प्रकाशशरण महत भने अहिले पनि अर्थतन्त्रमा कुनै समस्या नभएको ठोकुवा गर्छन् । मलेसियाको आजियाटा कम्पनी झण्डै एक खर्ब ४३ अर्बमा किनेको एनसेलको सेयर साढे ६ अर्बमा बेचेर नेपालबाट बाहिरिँदै छ । यो त एउटा उदाहरण मात्र हो । मुलुक चरम आर्थिक मन्दीमा छ, जसको असर जताततै परेको देखिन्छ ।
तीन वर्षअघि ८० लाख आनामा किनेको जग्गा अहिले आधा मूल्यमा बिक्री नहुने अवस्थामा आएको छ । कित्ताकै ३५ सय रुपैयाँ दरले किनेको सेयर सय रुपैयाँमा बिक्री हुन हम्मे-हम्मे छ । त्यस्तै, २० लाखमा किनेको गाडी पनि लाख रुपैयाँमा बिक्दैन । करोडौँ लगानी गरेर खुलेको होटल, रेस्टुरेन्ट, कपडा पसल व्यवसायीहरूको अहिले उठीबास लागेको छ । भाडा तिर्न नसकेपछि सामान नै घरधनीलाई छोडेर उनीहरू पलायन हुनुपर्ने भएको छ । कतिपय कपडा पसलेहरू भाडा तिर्न नसकेपछि आधा कपडा घरधनीलाई छोडेर आधा बाटोमा लगेर सस्तोमा बेचिरहेका पनि देखिन्छन् ।
किराना पसलेहरू पनि व्यापार सुस्ताएको भन्दै सुस्केरा छोड्छन् । पहिला बोरा चामल लैजानेले अहिले किलोमा लैजाने उनीहरूको भनाइ छ । माछा, मासु, दही, दूध र फलफूल पसलमा पहिलेजस्तो ग्राहक हुँदैनन् । कोही गइहाले पनि पहिला जति किन्ने सामान खरिद गर्दैन । बेलुका ५ नबज्दै बजार सुनसान हुन्छ ।
दोहोरी साँझ, डान्स बार, रेन्टुरेन्टहरूमा एक जना छिर्दैन । सिमेन्ट, डण्डी पसलेहरू पनि व्यापार नभएपछि तनावका कारण दिउँसै मदिरा पिएर हल्लिन्छन् । ब्युटीपार्लर खोलेर बसेकाहरू व्यापार ठप्प भएपछि दिउँसै रोएर बस्छन् । कपाल र दाह्री काट्ने सैलुनमा पहिला हरेक शनिबार भीड हुन्थ्यो । खुट्टा टेक्ने ठाउँ हुन्नथ्यो । अन्य दिन पनि काम चलिरहेकै हुन्थ्यो । तर, अहिले त्यहाँ पनि कोही देखिँदैन ।
सहकारीले करोडौँ बचतकर्ताको खर्बौं रकम डुबाइदिएको छ । बचतकर्ताहरू आक्रिोशित छन् । यसले सहकारीमा कार्यरत कर्मचारीहरू अहिले बचतकर्ता देख्नेबित्तिकै भाग्छन् । बैंक तथा लद्युवित्तका बचतकर्ताको पनि यही हालत हुने आशङ्का पैदा भएको छ । आम सर्वसाधारण निराश छन् । मुलुक आर्थिक दृष्टिले डुबिसकेको उनीहरू बताउँछन् । अर्थमन्त्री र प्रधानमन्त्री भने अझै पनि अर्थतन्त्र ठिकठाक छ भन्दै भाषण गरेर हिँड्छन् ।
सरकारले जग्गाको कित्ताकट फुकुवा गप्यो, तर जग्गाको कारोबार बढेन । सेयरमा लगाइएको १२ करोडको सीमा पनि हटाइयो, तापनि कारोबार बढेन । अधिंकाश बैंक तथा वित्तिय संस्थाले कर्जाको ब्याजदर घटाए, तर कर्जा लिन कोही गएन । बैंकमा ठूला व्यापारीहरूको कब्जा छ र, आज तिनैका कारण बैंक संकटमा परेको छ । बैंकबाट अर्बौं ऋण लिएर उनीहरूले वर्षोदेखि साँवाब्याज तिरेका छैनन् । धेरै बैंक टाट पल्टिने अवस्थामा पुगेका छन् ।
भनिन्छ, ‘हावा नचली रुखको पात हल्लिँदैन ।’ अहिले बैंकका कर्मचारीले नै आफ्ना आफन्त, साथीभाइलगायतलाई अब बैंकमा रकम जम्मा नगर्नुस् भनेर भनिरहेको पनि सुनिन्छ । एक वर्षअघि नभागेका सहकारीका सञ्चालक र कर्मचारी भन्थे, ‘बाहिरी जिल्लाबाट आएका, अर्थात् यहाँ घर भाडामा लिएर सञ्चालन गर्दै आएको सहकारी भागेका हुन् । हामी त स्थानीय हौँ । आफ्नै भवन छ, हामी भाग्दैनौँ ।’ तर, अहिले त यिनीहरू पनि भागेका छन् । आफूलाई स्थानीय र आफ्नै भवन छ भन्दै आश्वासन बाँडेर आएकाहरू रातारात फरार भएका छन् । बजारमा अधिंकाश बैंकमा विदेशी लगानी रहेको बताइन्छ । दशैँ-तिहारमा व्यापार भएर आम्दानी भएको रकम समेत माडवाडी व्यापारीहरूले यहाँको बैंकमा राखेनन् । सहकारीमा भएको रकमसमेत झिकेर आफ्नै मुलुक लगे । निजी होस् या सरकारी, बैंकहरू समस्यामा परेको जनताले बुझिसके ।
बैंकमा जम्मा गरेको रकमसमेत उनीहरूले निकाल्न थालिएको छ । बेरोजगारी, महँगी, गरिबी, मन्दीलगायतका कारण जनता सरकारप्रति आक्रोशित छन् । सरकारमा बस्नेहरू भने जनतासमक्ष अझै सत्य कुरा लुकाउँछन् । सर्वसाधारण जनताले अर्थमन्त्री डा. प्रकाशरण महतको शैक्षिक योग्यता र नागरिकतामाथि नै प्रश्न उठाउन थालिसकेका छन् ।
अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को बजेट जेष्ठ १५ गते सदनमा प्रस्तुत गर्दा उनले भनेको कुरा न जनताले बुझे न सांसदहरूले नै । उनी जनताबाट पत्याइएका नेता पनि होइनन् । ०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उनी एमालेका इश्वर पोखरेलसँग पराजित भएका थिए । कांग्रेसका सभापति शेरबहादुर देउवाको अघिपछि लागेर उनी अर्थमन्त्री बनेका हुन् । महतसँग न अर्थको विषयमा ज्ञान छ न उनले अर्थसम्बन्धी बोलेको नै केही बुझिन्छ । अर्थमन्त्री असक्षम हुँदा आजको विकराल परिस्थितिमा राष्ट्र र जनताले समस्या झेल्नुपर्ने अवस्था आएको छ ।
नेपालका अर्थमन्त्री र प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा अर्थतन्त्र ठिकठाक रहेको दाबी गरिरहेका छन् । सरकारले जहिल्यै विदेशी ऋण स्वीकृत गरेको खबर सुनिन्छ । यदि अर्थतन्त्र ठिकठाक छ भने विदेशी ऋण किन लिएको ? सरकारी खर्च प्रत्येक दिन बढिरहेको छ । सरकारी कर्मचारी र जनप्रतिनिधिका लागि तलबभत्ता, गाडी, खाजा गरेर नै दिनहुँ अर्बौं खर्चिने गरेको छ । यो कहालीलाग्दो समस्याबाट मुलुकले अब कसरी र कहिले पार पाउने हो, वर्तमान राज्य-शासकहरूले जवाफ दिन सकेका छैनन् ।
प्रतिक्रिया