चीनपछि अमेरिकामा फैलिँदै व्हाइट लङ सिन्ड्रोम

चीनपछि अमेरिकामा फैलिँदै व्हाइट लङ सिन्ड्रोम


श्वासप्रश्वाससम्बन्धी रोग निमोनियाले चीनमा प्रभाव देखाएपछि अब अमेरिका र डेनमार्कमा पनि बालबालिकामा निमोनियाका घटनाहरू देखापरेका छन् । तथापि, यसलाई कुनै खतराको संकेत भन्नुको सट्टा सामान्य माइकोप्लाज्मा निमोनिया संक्रमण भनिएको छ ।

चीनपछि अब अमेरिकाको ओहायो राज्यमा बालबालिकामा निमोनियाको संक्रमण देखिएको हो । अमेरिकाबाहेक डेनमार्क र नेदरल्याण्डमा पनि यसका केसहरू रिपोर्ट भइरहेका छन् ।

यो रहस्यमय निमोनियालाई ‘व्हाइट लङ सिन्ड्रोम’ नाम दिइएको छ । यो रोगले प्रायः ३ देखि ८ वर्षका बालबालिकालाई असर गर्छ । यो रोग किन सर्छ भन्ने ठोस कारण भने अहिलेसम्म पत्ता लागेको छैन । तर, कतिपयले यो रोगको कारण माइकोप्लाज्मा निमोनिया ब्याक्टेरियाबाट हुने संक्रमण भएको बताएका छन् । यस संक्रमणका कारण फोक्सो प्रभावित हुन्छ । बढ्दो केसहरू हेर्दा यो खतराको संकेत हुन सक्छ।

‘व्हाइट लङ सिन्ड्रोम’ के हो ?

यो रहस्यमयी रोगलाई व्हाइट लङ सिन्ड्रोम नाम दिइएको छ, किनभने यसबाट प्रभावित हुँदा फोक्सोमा सेतो दाग देखिन थाल्छ । यो रोगका कारण फोक्सो सुन्निने हुन्छ, जसले फोक्सो र श्वासप्रश्वास प्रणालीमा समस्या आउन सक्छ । यो सुरुमा हल्का हुन्छ तर पछि गम्भीर बनेर देखापर्छ ।