‘६ अर्बमा आउँछ भने एनसेल नेपाल सरकारले खरिद गर्नुपर्छ’ : अमरेश सिंह

‘६ अर्बमा आउँछ भने एनसेल नेपाल सरकारले खरिद गर्नुपर्छ’ : अमरेश सिंह


सरकारको स्वामित्वमा आउन नदिन एनसेलको शेयर बिक्री गरिएको दाबी

भ्रष्टाचारविरुद्धको अभियानमा पछिल्लो चरणमा व्यक्तिगत ढंगले मुखरित रहेका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले एनसेल खरिदबिक्रीबारे विस्तृत खुलासा गरेका छन् । चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेलले गलत मनशाय राखेर खरिदबिक्री भएको दाबी उनले गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले गलत मनसायका साथ ६ अर्बमा एनसेलको खरिदबिक्री भएको दाबी गरेका हुन् । साथै, एनसेल खरिदबिक्री यूकेमा गरेर नेपालमा तिर्नुपर्ने क्यापिटल गेन ट्याक्स छली गरिएको उनले बताए । एनसेलको शेयर बिक्री शंकास्पद रहेको उनको जिकिर छ ।

बताए । उक्त शेयर ५० मिलियन डलरमा विक्री भएको सत्य हो भने आफू ६० मिलियन डलर दिन तयार रहेको उनले बताए । उनले एनसेलको शेयर विक्रीको सम्झौतापत्रमा पाँच मिलियन डलर खरिद भएको ६ महिनापछि र अरु बाँकी ४५ मिलियन डलर चार वर्षभित्र भुक्तानी गर्ने सहमति रहेको दाबी छ । सम्झौता शंकास्पद रहेको बताउँदै उनले यस्तो प्रकारको खरिद-बिक्री हुन नसक्ने दाबी गरे ।

‘जम्मा पाँच मिलियन किनेको ६ महिनापछि दिँदा हुने, बाँकी ४५ मिलियन डलर छ, त्यो चार वर्षमा दिँदा हुन्छ । यस्तो खरिद-बिक्री कहीँपनि हुँदैन । यो सबै ठगी हो’- उनले भने । यसभन्दा अघिपनि एनसेलबारेमा आन्तरिक राजश्वका महानिर्देशकले क्यापिटल गेन ट्याक्स लिनुपर्दैन भनेको र इन्टरनेश्नल ट्रिबुनलबाट नेपालले जितेपछि ४३ अर्ब नेपाललाई राजश्व आएको घट्ना स्मरण गराउँदै उनले अहिलेको खरिदबिक्री पनि गलत मनसायका साथ भएको दाबी गरे । एनसेलको शेयर बिक्रीमा नेपालका नेताहरुको पनि संलग्नता रहेको उनको ठोकुवा छ । उनले एनसेलका शेयर बिक्रीमा नेताहरुलाई अर्बमा फाइदा भएपनि नेपाली जनतालाई भने खर्बौं घाटा लागेको उनको दाबी छ ।

नेताहरुको भ्रष्टाचारकै कारण गणतन्त्र खतरामा रहेको पनि उनले बताए । आजियाटाको ग्रप सिईओले आफूसँग नेपालको नेताहरुका कारणनै विदेशी लगानी भित्रिन नसकेको भनेर भनेको पनि सांसद सिंहले स्मरण गराए । नेताहरुको लिडरसीपका कारण नेपालमा विदेशी कम्पनीहरुले इमानदारीपूर्वक काम गर्न नसकेको उनले बताए । एनसेलको शेयर बेच्ने अभ्यास एक वर्षदेखि राजनीतिक दलका नेता, सरकारका पदाधिकारीलगायतको मिलेमतोमा भएको उनको दाबी छ ।

‘केही बिजनेस माफिया, राजनीतिक दलका नेताहरु, सरकारका अधिकारीहरु मिलेर यो काम भएको हो । एक वर्षदेखि यो नेपाल सरकारलाई सन् २०२९ मा कसरी ह्याण्डओभर नगर्ने, त्यसका लागि प्रयास भयो’- उनले भने । ६ अर्बमा कम्पनी बिक्री भएपनि एनसेलले नेपालका तीन वटा बैंकबाट ४० अर्ब ऋण लिएको उनले बताए । एनसेलका भ्यालुएसन ६ अर्बमात्रै हो भने ऋण प्रवाह गर्ने बैंकहरुलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ ।

एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्स बैंकबाट ४० अर्ब ऋण लिएको उनले दाबी गरे । एनसेल ६ अर्बमा बिक्री भयो भनेर पत्याउन नसकिने उनले बताए । नेपालको कर छली गर्नलाई सरकारकै मिलेमतोमा यूकेमा सो सम्झौता भएको उनले बताए । यूकेसँग नेपालको दोहोरो कर सम्झौता रहेको उनले बताए । सोही सम्झौताको फाइदा उठाउँदै खरिद विक्री सम्झौता यूकेमा भएको उनले बताए ।

उनले एनसेलको २० प्रतिशत शेयरकर्ता शतिषलाल आचार्यको नाममा रहेको सुनिभेरा क्यापिटल भेन्चरको नाममा २०१७ देखि २०२३ सम्म १५० मिलियन डलर डिभिडेन्ट लगेको दाबी गरे । २० प्रतिशतवालाले त्यति धेरै डिभिडेन्ट लगेको कम्पनीको शेयर ५० मिलियनमा विक्री हुन्छ भनेर पत्याउन नसकिने उनको भनाइ छ ।

आजका दिनमा एनसेलको भ्यालुयसन दुई खर्बभन्दा बढि रहेको उनको दाबी छ । एनसेलको मुद्दा अझै सर्वोच्च अदालतमा विचाराधिन रहेको बताउँदै उनले आगामी १९ गते तोकिएको पेशीमा चलखेल गरेर ५७ अर्ब कर छली गर्न खोजेको उनले बताए । उनका अनुसार दूरसञ्चार नियमावलीमा ५ प्रतिशतभन्दा बढि शेयर बिक्री गर्नका लागि दूरसञ्चारबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । आजियाटा बिक्रीको सम्झौता हुँदा उक्त स्वीकृति पनि नलिइएको उनको खुलासा गरे ।

पहिला शतप्रतिशत शेयर नेपालीको नाममा ल्याउने, एक/दुई वर्षपछि आईपीओ जारी गर्ने, खर्बौं रुपैयाँ नेपाली जनताको लिने र पुनः २६ प्रतिशत शेयर विदेशीलाई दिने प्रयत्न भइरहेको उनको आँकलन छ । सत्ता साझेदार दलकै सहभागितामा यस्ता प्रकारका कर छली र भ्रष्टाचार भइरहेको उनको आरोप छ । उनले नेता र दलप्रति जनताको विश्वास गुम्दै जानुको कारण भ्रष्टाचार नै भएको दाबी गरे ।

६ अर्बमा एनसेल साँच्चै बिक्री हुने हो भने नेपाल सरकारले किन्नुपर्ने उनको सुझाव छ । उनका अनुसार नेपाली जनताले सडकमा आएरपनि यसलाई रोक्नुपर्छ । किनकि, यो नेपाली जनताको सम्पत्ति हो । ‘चार वर्षपछि नेपाली जनताको हुनेवाला छ । यदि ६ अर्बमा नै बेचिन्छ भने नेपाल सरकारले अधिकरण गर्नुपर्छ । ६ अर्ब छ भने नेपाल सरकारले किन्छ, नेपाल सरकारको दूरसञ्चार संस्थानले किन्छ’- उनले भने । एनसेललाई नेपाल सरकारको स्वामित्वमा आउन नदिने र त्यसको लाभ लिने चलखेलमा नेपालका चार/पाँच जना माफियाको संलग्नता रहेको सिंहले बताए ।