इन्टरपोलको महासभामा सहभागी भइ आईजीपी कुँवर स्वदेश फिर्ता

इन्टरपोलको महासभामा सहभागी भइ आईजीपी कुँवर स्वदेश फिर्ता


अष्ट्रियाको भियनामा सम्पन्न अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९१औँ महासभामा सहभागी भइ प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर स्वदेश फर्किएका छन् ।

इन्टरपोल सचिवालयको आयोजनामा यही मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भइ इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासहितको टोली पनि स्वदेश फिर्ता भएको छ ।

महासभामा सहभागी हुने क्रममा नेश्नल सेन्ट्रल ब्युरो नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधिमण्डल तथा इन्टरपोलका अध्यक्षबीच शिष्टाचार भेट पनि भएको बताइएको छ । महासभामा सहभागी एक सय ९५ इन्टरपोल सदस्य राष्ट्रका नेश्नल सेन्ट्रल ब्युरोका प्रमुखबीच विश्वलाई सुरक्षित बनाउन सहकार्य गर्नेबारेमा छलफल भएको प्रहरी महानिरीक्षक कुँवरको सचिवालयले जनाएको छ ।

महासभाले इन्टरपोलको ९२औँ महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औँ महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।

इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई महासभामा सम्मान गरिएको थियो ।