ज्योति विकास बैंकको सिईओमा कपिल ढकाल नियुक्त

ज्योति विकास बैंकको सिईओमा कपिल ढकाल नियुक्त


ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन् । यही मंसिर २० गते बसेको सञ्चालक समितिको ४७१औं बैठकले ढकाललाई सिईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका कपिल ढकाल २०८०÷०८÷२० देखि लागु हुनेगरि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढकाल यसअघि ज्योति विकास बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकमा आवद्ध थिए ।

चार्टर्ड एकाउन्टेन्ट रहेका ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । उनी एनआईसी एसिया क्यापिटल लिमिटेड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि छन् ।

ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले उनको नेतृत्वमा आगामी दिनमा बैंकलाई थप सबल, ग्राहकमैत्री र सुदृढ बैंकको रुपमा स्थापित हुने विश्वास ज्योति विकास बैंकले लिएको बताइएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याइ समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुऱ्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको जनाइएको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।