एनसेलले आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरू हासिल गर्न सरकारलाई योगदान पुर्याउने प्रतिबद्धता जाहेर गरेको छ । एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै कम्पनीले यस्तो प्रतिबद्धता जनाएको हो ।
एनसेलको शेयरहोल्डिङको बारेमा विवाद चलिरहेको परिवेशमा विज्ञप्ति जारी गर्दै कम्पनीले स्पष्टिकरण दिएको हो ।
स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मुलका शेयरधनी सतिशलाल आचार्यको भनाइ उद्धृत गर्दै एनसेलले जनाएअनुसार आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र, स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरूमध्येबाट पहिलो भइ छानिएको हो ।
आचार्यको भनाइ भन्दै विज्ञिप्तिमा भनिएको छ- ‘शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो । सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीेले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ । यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने छ ।’
‘एनसेलले आजको दिनसम्मको सबै कर दायित्वहरू सम्पुर्ण रूपमा पालना गरेको छ र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिवद्ध रहेको छ र आफ्ना सम्पुर्ण सरोकारवालाहरूलाई एनसेल एक जिम्मेवार वित्तिय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौँ ।’
कम्पनीले आवश्यक सहमतिहरूका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको उल्लेख गरेको छ । एनसेलमा केही परिवर्तन भइरहेको उल्लेख गर्दै आफ्ना ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने सुनिश्चितता पनि गरिएको छ । एक जिम्मेवार कम्पनीको रुपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ- ‘लाखौँ नेपालीहरूको जीवनलाई समृद्ध बनाउने उद्देश्यअनुरुप परिस्कृत डिजिटल सेवाहरूमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रुपमा अघि बढ्न एनसेल तयार छ । मोवाइल कनेक्टिभीटी सेवामा मात्र सिमित नभई विभिन्न सेवाहरू प्रदान गर्न हामी हाम्रो नेटवर्कको पुर्वाधार विकासलाई निरन्तरता दिने छौँ र यससँगै देशमा प्रविधिले ल्याउने महत्वपूर्ण अवसरहरूको पनि सिर्जना हुनेछ । एनसेलको यस नयाँ यात्राको सुरुवात एक परिवर्तन मात्र नभइ यसले डिजिटल नेपाल निर्माणको अवधारणालाई सक्रिय रुपमा योगदान पुर्याउनेछ ।’
प्रतिक्रिया