जर्मन वैज्ञानिकले उब्जाए वर्षमा ६ बाली लाग्ने विशेष प्रजातिको गहुँ

जर्मन वैज्ञानिकले उब्जाए वर्षमा ६ बाली लाग्ने विशेष प्रजातिको गहुँ


गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा प्रयोग गरिन्छ । विश्वभर प्रयोग गरिने रोटी, बिस्कुटलगायत विभिन्न परिकार यसैबाट बनाइन्छ । त्यसैले विश्वले अधिकतम गहुँ उत्पादनमा जोड दिइरहेको छ ।

तर, युक्रेन युद्धको प्रारम्भिक दिनमा रुस-युक्रेनबाट गहुँको निर्यात रोकिएपछि विश्वभर खाद्यान्न संकट उत्पन्न भयो, जसले संसारभर खाद्य गहुँको अभाव भोग्नुपऱ्यो । उक्त अकालमा अफ्रिकामा मात्र नभइ युरोपेली देशहरूमा पनि रोटी पाउन मुस्किल भएको थियो ।

हामी सबैलाई थाहा छ कि गहुँ एक पटक छरेपछि यसको बाली ४ महिनापछि मात्र तयार हुन्छ । यो एक वर्षमा धेरै पटक बढ्न सक्दैन । तर जर्मन वैज्ञानिकहरूले वर्षमा ६ पटक काट्न सकिने गहुँको यस्तो प्रजाति उब्जाउँदै छन्, जुन खाद्यान्न संसारका लागि ‘बम्पर प्रतिफल’ हुने देखिएको छ ।

जर्मनको म्युनिख शहरका अन्वेषकहरूले जलवायु कक्षभित्र गहुँ खेतीमा रोचक प्रयोग गरिरहेका छन् । ड्युचे वेलेको समाचारअनुसार वैज्ञानिकले विशेष प्रकारको गहुँ तयार गरेका छन्, जसले धेरै छिटो पाक्ने मात्र नभइ वर्षमा ६ पटक बाली पनि उत्पादन गर्न सक्छ । वैज्ञानिकका अनुसार गहुँको यो विशेष जात १० हप्ता अर्थात् साढे दुई महिनाअघि नै तयार हुनेछ र, लागतमा उल्लेख्य कमी आउने छ । एक पटकको लागतमा ६ गुणा फसल प्राप्त गर्न सकिने सम्बन्धित वैज्ञानिकहरुको दाबी छ । यसअनुसार अहिले एक एकडमा २० क्विन्टल गहुँ उत्पादन हुन्छ भने सोही जमिनमा १०० क्विन्टल गहुँ उत्पादन गर्न सकिन्छ ।

म्युनिखको प्राविधिक विश्वविद्यालयको विशेष आर्थिक सहयोगमा भइरहेको यस प्रणालीमा सामान्य खेतीपातीको तुलनामा पानीको खपत ९५ प्रतिशतले घट्ने गरी कार्य भइरहेको बताइएको छ ।