ज्योति विकास बैंकद्वारा दुई स्वास्थ्यचौकीलाई बेबीवार्मर प्रदान

ज्योति विकास बैंकद्वारा दुई स्वास्थ्यचौकीलाई बेबीवार्मर प्रदान


ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकी र नुवाकोटस्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई बेबीवार्मर (न्यानो नानी) प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालको उपस्थितिमा एक कार्यक्रम आयोजना गरि राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर हस्तान्तरण गरिएको हो ।

नवजात शिशु र विशेष गरी निरन्तर नर्सिङ सहयोग आवश्यक पर्ने गम्भीर रुपमा विरामी शिशु तथा चिसो वातावरणमा उपचार भइरहेका शिशुलाई अल्पतापबाट जोगाउन प्रयोग हुने उक्त बेबीवार्मर मेशिनहरु बैंकको सुर्खेत शाखा र रातमाटे शाखा कार्यालयको पहलमा प्रदान गरिएको हो।

स्वास्थ्यचौकी जर्बुटामा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले स्वास्थ्यचौकीका हेल्थ असिष्टेन्ट अमर सुनार र वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ सुर्खेतका वडाअध्यक्ष दीपेन्द्रराज कोइरालालाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको सो बैंकले जनाएको छ ।

खड्गभञ्ज्याङ स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट स्वास्थ्य चौकीका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बीच सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । साथै, सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनियर मार्फत बेबी वार्मर संचालनसम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेशिनबाट नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नं. ३ स्थित खड्गभञ्ज्याङ स्वास्थ्यचौकी र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ स्थित जर्बुटा स्वास्थ्य चौकीमा प्रसुति सेवा लिन आउने सेवाग्राही प्रत्यक्ष्य रुपमा लाभान्वित हुने बताइएको छ ।