प्रतिलिटर तीन रुपैयाँको दरले घट्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिलिटर तीन रुपैयाँको दरले घट्यो पेट्रोलियम पदार्थको मूल्य


इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार (२९ मंसिर) प्राप्त खरिद मूल्यको नयाँ मूल्यसूचिमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार बिहान (शुक्रबार रातको १ बजे)देखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु. तीन घटाइएको हो ।

निगम सञ्चालक समितिको शुक्रबारको बैठकले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः एक सय ६४ रुपैयाँ ५० पैसा, एक सय ६६ र एक सय ६७ रुपैयाँ तोकेको छ । डिजेल तथा मट्टितेल पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५४ रुपैयाँ ५० पैसा, एक सय ५६ र एक सय ५७ कायम गरिएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्ग सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपो रहेका छन् ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल तथा डिजेलको खरिद मूल्यमा क्रमशः प्रतिलिटर तीन रुपैयाँ सात पैसा र तीन रुपैयाँ १६ पैसाले घटेर आएपछि नेपाली बजारमा मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।