विवाह आफ्ना लागि कि अरुका लागि ?

विवाह आफ्ना लागि कि अरुका लागि ?


अहिलेका तामझामवाला विवाहहरू रीतिरिवाजका लागि भन्दापनि प्रायः फोटो, भिडियो खिच्न र सामाजिक सञ्जालमा पोष्ट गर्नका लागि गरिन्छन् । यदि सामाजिक सञ्जालहरू नहुँदा हुन् त यी विवाहहरूमा न यति धेरै फूलको प्रयोग हुन्थ्यो न त हल्दी, मेहेन्दीवाला कार्यक्रम नै हुन्थे ।
✍ बबिता बस्नेत

यही २०८० साल मङ्सिरको पहिलो हप्ता एक बहिनी यो पङ्क्तिकारलाई भेट्न आइन् । उनका बाबुलाई धेरै वर्ष अघिदेखि चिनेका कारण दुई वर्षअघि उनको विवाहमा दुलही र निम्तालुको रूपमा उनीसँग मेरो भेट भएको थियो । अहिलेको शिक्षित युवापुस्ताकी एक सदस्य नेपालमै बसेर काम गरिरहेकोमा खुशी ब्यक्त गरेर बधाई दिँदै गर्दा उनको मुहारमा खुशी देखिनँ । हालखबर सोध्ने क्रममा ज्वाइँसाबलाई ठिकै छ नि… भनेपछि उनले सोही विषयमा आफू कुरा गर्न आएको बताइन् । विवाहको केही महिनापछि नै उनीहरूबीच खटपट भएछ । सम्बन्धबिच्छेदका लागि दुवै परिवारबीच कुराकानी भइरहेको रहेछ । मन नमिलेर सँगै बस्न नसकेपछि सम्बन्धबिच्छेद गर्नु हिजोआज सामान्य कुरा हो । तर उनलाई मानसिक रूपमा गाह्रोचाहिँ हुन लागेको सम्बन्धबिच्छेदले भन्दा बढी विवाहमा खिचेका र आफन्त, साथीहरू, नातेदार र आफैले सार्वजनिक गरेका फोटो र भिडियोले बनाएको रहेछ । बाबु सार्वजनिक जीवनमा भएपनि उनी सार्वजनिक जीवनमा छैनन् । विवाहका ती तस्बिरहरूले आफूलाई साइकोलोजिकल ट्रमा भएको उनले बताइन् । उनले भनेकी थिइन्, ‘मैले त सबै डिलिट गरिसकेँ, तर अरुले पोष्ट गरेका तस्बिरहरूले मलाई एकदमै डिस्टर्ब गरिरहेको छ, के गर्ने होला ?’ अरुले पोष्ट गरेका ती तस्बिरहरू फेस रिडिङ या कुनै प्रविधिले डिलिट गर्न मिल्छ कि ? यस्तो बेलामा के गर्ने होला ? भनेर सल्लाह-सुझाव लिन उनी आएकी रहिछन् । विगतमा झैँ विवाहका भिडियोहरू आफ्ना परिवारका सदस्यहरू वरिपरि बसेर टिभीमा हेर्ने जमाना रहेन । जसले पनि खिच्ने र सामाजिक सञ्जालमा राख्ने हुँदा सम्बन्ध बिग्रिएपछि तिनै फोटा र भिडियोले मानिसलाई अप्ठ्यारो परिस्थितिमा पुऱ्याइरहेको रहेछ । जसलाई समयअनुसारका अप्ठ्याराहरू भन्नुपर्ने हुन्छ सायद !

विवाहका मात्र होइन विवाहअघि सम्बन्धमा रहँदाका फोटो/भिडियोहरूले पनि हिजोआज मानिसहरूलाई त्यत्तिकै दुःख दिइरहेका छन् । कुनैबेला पति, पत्नी जस्तै गरी खिचेका फोटो/भिडियोहरू सम्बन्धित मान्छेसँग नभइ अरु नै सँग विवाह भएपछि सामाजिक सञ्जालमा रङ्ग भर्ने दृष्य बन्ने गरेका छन् । जिन्दगीकै भरोसा नहुने निश्चित भएको संसारमा कसैसँग कुनैबेला सम्बन्ध भयो भन्दैमा विवाह हुन्छ भन्ने निश्चिततामा त्यसरी फोटो, भिडियो खिच्नु गलत हो या खिचिएका भिडियोहरू पोष्ट गर्नु गलत ? या के सही, के गलत- समाजमा राम्रैसँग छलफल हुनुपर्ने अवस्थामा हामी आईपुगेका छौँ ।

सही या गलत जे भएपनि त्यसको असरचाहिँ सम्बन्धित विषयबस्तुप्रति मान्छेको हेर्ने दृष्टिकोण र सोचमा भरपर्छ । यो पङ्क्तिकारसम्म आइपुगेकी ती बहिनीलाई फरक पऱ्यो, कतिलाई त्यस्ता कुराले फरक नपर्न सक्छ । तर इन्टरनेटको दुनियाँमा एकपल्ट गइसकेपछि यस्ता कुराहरू सबैतिरबाट डिलिट गर्न गाह्रो छ भन्ने कुराचाहिँ हामी सबैले बुझ्नु आवश्यक छ । हरेक ब्यक्तिगत क्रियाकलापहरूको भिडियो खिचेर अपलोड नगरेकै राम्रो ।

यसरी हामीकहाँ सम्बन्धबिच्छेद गर्नेहरूको सङ्ख्या बढ्दै जाँदा विवाहहरू महँगा र भब्य बन्दै गइरहेका छन् । कसैको सम्बन्धबिच्छेद भयो भनेर विवाह नगर्ने कुरा पनि भएन तर अहिले अति हर्षित भएर पोष्ट गरेका तस्बिरहरूले कुनैबेला ‘साइकोलोजिकल ट्रमा’मा पुऱ्याउने सम्भावना पनि त्यत्तिकै हुँदोरहेछ । कुनै बेला थियो- विवाहहरू धार्मिक आस्थाअनुरूपका विधि पुऱ्याउनका लागि गरिन्थे । खासमा विवाहमा छिमेकी, आफन्त बोलाउने चलन नै समाजले सम्बन्धलाई वैधानिकता दिनका लागि थियो । कानून थिएन, विवाह दर्ता गर्ने भन्ने हुँदैनथ्यो । पारिवारिक खुशीका साथै सरोकार पक्षलाई बोलाएर जानकारी दिएपछि प्रश्न उठ्ने ठाउँ रहँदैन भनेर यस्तो चलन राखिएको हुनुपर्छ । अहिलेका तामझामवाला विवाहहरू रीतिरिवाजका लागि भन्दापनि प्रायः फोटो, भिडियो खिच्न र सामाजिक सञ्जालमा पोष्ट गर्नका लागि गरिन्छन् । यदि सामाजिक सञ्जालहरू नहुँदा हुन् त यी विवाहहरूमा न यति धेरै फूलको प्रयोग हुन्थ्यो न त हल्दी, मेहेन्दीवाला कार्यक्रम नै हुन्थे । कतिले त अहिले विवाहमा के–कस्ता रीतिरिवाज भए पनि थाहा पाउँदैनन् । फोटो कस्तो आयो, कोसँग आयो ? भन्ने कुराले महत्व पाउँदा अन्य कुराहरू गौण हुनु स्वभाविक नै हो । विवाहमात्र होइन अन्य रीतिरिवाजहरू पनि त्यस्तै हुँदै गएका छन् ।

‘मलाई उसको छोराको विवाहमा बोलाएको थियो, त्यो भन्दा राम्रो गरेर उसलाई मेरो छोरीको विवाहमा बोलाउँछु’ भन्ने खालको सोचको अन्त्य जबसम्म हुँदैन तबसम्म यस्ता देखावटी ब्यवहारले निरन्तरता पाइरहन्छन् ।

आफू, आफ्नो परिवार, नातेदार, छिमेकी र आफन्तहरूका बीच हुनुपर्ने विवाहहरू अहिले सार्वजनिक समारोह झैँ हुन थालेका छन् । विवाह, ब्रतबन्ध, पास्नी जस्ता कुरा मानिसका नितान्त पारिवारिक र आफ्नो वरिपरिका मानिसहरूबीच मनाइने साँस्कृतिक उत्सव हुन् । कुनै पनि ब्यक्तिको खुशीमा पारिवारका सदस्य, नातेदार, आफन्त र निकटवर्तीहरू जम्मा भएर खुशी साट्नु स्वभाविक हुन्छ । दुःखमा पनि सहयोग चाहिने उनीहरूकै हो । तर हामीकहाँ दिन-प्रतिदिन विवाहका भोजहरू सार्वजनिक ब्यक्तित्वहरूले भरिभराउ हुन थालेका छन् । आमसभा हो कि विवाह छुट्याउनै मुस्किल पर्ने गरी आयोजना गरिने यस्ता भोजभतेरले के हुन्छ ? के सन्देश दिन्छ ? भनेर सोच्दा खासै अर्थपूर्ण सन्देश भेटिँदैन । विवाह पहिलाजस्तो सहज छैन र पहिला जस्तो असहज पनि छैन । सहज यस अर्थमा छैन कि विवाहहरू टुट्ने क्रममा वृद्धि भइरहेको छ । असहज यस अर्थमा छैन कि विवाहका लागि पहिला जस्तो घर, थर, आफन्त, कुल खानदान हेरेर, सोधीखोजी गरेर लामो प्रक्रियामा जानै पर्दैन । समाजिक सञ्जालबाटै भेट भएकाहरूबीच पनि धमाधम विवाह हुन थालेका छन् । छोटो प्रक्रियाबाट भएका विवाहका चुनौतीहरू पनि त्यत्तिकै छन् ।

मुलुकको राज्यसंरचना र शासकीय स्वरूपमा ब्यापक परिवर्तन भएपनि राजनीतिक परिवर्तनले साँस्कृतिक परिवर्तन ल्याउन सकेन । हिजो पार्टीमार्फत कुरा छिनेर मञ्चमा मुट्ठी उठाइ एक चिम्टी सिन्दुर र एउटा साधारण मालाले आफ्नो विवाह गरेका कतिपय कामरेडहरू नै अहिले सैयौँ र हजारौँको सङ्ख्यामा मान्छे बोलाएर भोजभतेर गर्न थाले । उहाँहरूले गर्ने ब्यवहार, लाखौँ मूल्य पर्ने फूलको प्रयोग र सजाउने मण्डप हेर्दा सिनेमामा देखाइने कुनै राजा महाराजाको भन्दा कम देखिँदैन । कम्युनिष्ट सिद्धान्त, मूल्य, मान्यताका कारण धेरै नेपाली युवाहरू हिजो कम्युनिज्मप्रति आकर्षित भएका थिए । ती मूल्य-मान्यताहरूले काम गर्न छोडेपछि अहिले मानिस कम्युनिष्ट हुन छाडेका छन् । लामो इतिहास भएका, आफ्नो जिन्दगीको उर्वर समय कम्युनिष्ट बन्ने धुनले जेल परेका लोकेन्द्र बिष्ट मगर जस्ता योद्धाहरू आफ्ना सहकर्मीका ब्यवहारले पार्टी छोडेर खेती किसानी गर्न थालेका छन् । कतिले चाहिँ आफ्ना नेताहरूको सिको गर्दै रवाफिलो जीवन शैलीका लागि आफूलाई कम्युनिष्ट भन्न थालेका छन् ।

राम्ररी अघि बढ्न सक्यो भने विवाह सुन्दर सुन्दर संस्था हो । यस्तो संस्था निर्माण गर्ने क्रमका हाम्रा रीतिरिवाजहरू देखावटी नभएर ब्यवहारिक हुन आवश्यक छ । आफ्ना लागि हुनुपर्ने विवाह अरुका लागिझैँ बन्दैगएका छन् । मलाई उसको छोराको विवाहमा बोलाएको थियो, त्यो भन्दा राम्रो गरेर उसलाई मेरो छोरीको विवाहमा बोलाउँछु भन्ने खालको सोचको अन्त्य जबसम्म हुँदैन तबसम्म यस्ता देखावटी ब्यवहारले निरन्तरता पाइरहन्छन् ।

विवाहको बारेमा महाभारतमा एउटा गजबको प्रसङ्ग छ । श्रीकृष्णसँग पाण्डवहरूले ‘कलियुग कस्तो हुन्छ ? कलियुगमा के हुन्छ ?’ भनेर सोध्छन् । जवाफमा कृष्णले युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव पाँचै भाइलाई एकछिन बाहिर फरक-फरक स्थानमा गएर जे-जे देखिन्छ त्यो अवलोकन गरेर आउन भन्छन् । फर्किएपछि सबैले आफूले देखेका कुरा बताउँछन् । त्यसमध्ये नकुलले भन्छन्- ‘मैले देखेको दृश्य वरिपरि स-साना कुवाले भरिएको ठाउँ थियो जहाँ बीचमा ठूलो गहिरो कुवा थियो । अचम्म त के भने ती साना कुवा पानीले भरिएका थिए, तर त्यो गहिरो ठूलो कुवा पानीविहीन सुक्खा थियो, यसको अर्थ के हो ?’ जवाफमा कृष्णले भनका छन्- ‘यसको अर्थ कलियुगका मानिसहरूले विवाहमा करोडौँ खर्च गर्नेछन् । विवाहजस्तो कुराका लागि टाढा-टाढाका मानिस बोलाएर भोजभतेर गरिनेछ । भोजमा मदिरा र थरी-थरीका मासु हुनेछन् । सुन्दरतामा पैसा खर्च गरिनेछ । टाढाका मानिसलाई खान बोलाइए पनि आफैं वरिपरिका गरिब मानिसको भने वास्ता गरिने छैन, उनीहरूलाई भोजमा बोलाइने छैन । भोका मानिसहरूले ठूला भोजहरू खान पाउने छैनन् ।’

पाँच हजार वर्षअघि महाभारतमा लेखिएको यो कुरा समयक्रममा हुबहु मिल्न थालेको छ । विवाहजस्तो सामान्य कार्यमा मानिसले यति खर्च गर्न थालेका छन् कि निम्ता कार्ड नै कस्ता-कस्ता, मदिराबिनाका विवाह पार्टीहरू भेटिन मुस्किल छ । आफन्त र नातेदारहरूबीच सानो समारोहमा हुनुपर्ने विवाह कुनै नाता-सम्बन्ध नभएका सार्वजनिक व्यक्तित्वको भिड जुटाएर गर्न थालिएको छ । विवाहकै लागि मानिसले पोसाक र मेकअपमा पैसा खर्च गर्छन् भनेर पनि त्यतिबेलै भनिएको रहेछ । साधुसन्त, दुःख पाएका, भोका मानिसलाई भोजमा कसैले पनि बोलाएको देखिँदैन ।