नेपाली सेनाप्रति पूर्वाग्रह ?

नेपाली सेनाप्रति पूर्वाग्रह ?


शान्ति र संविधानका लागि सगरमाथाको चुचुरो चढ्ने बहानामा राज्यकोषबाट दुई करोड रकम हत्याउने प्रचण्डपुत्र प्रकाशलगायत माओवादीसम्बद्ध केही युवाको प्रयासलाई मर्ूतरूप प्रदान गर्न खोज्ने सरकारी प्रयत्नले नेपाली राजनीतिलाई रनक्कै ततायो । यस्तै, माओवादीमा पुन: मच्चिएको अर्न्तर्दलीय विवाद, आफ्नै दलले नेतृत्व गरिरहेको सरकारको राजीनामा मागेर सदन र सडक तताउँदै विद्रोहमा जाने माओवादी असन्तुष्ट पक्षको उद्घोष, विभिन्न मन्त्रालयका मन्त्री र राज्यमन्त्रीबीच भागवण्डा नमिलेर पैदा भएको खिचातानी वा भण्डाफोर-प्रकरण, कतिपय मन्त्रीहरूद्वारा ज्यादतिपूर्ण ढङ्गबाट मातहतका कर्मचारीमाथि दर्शाइएको दबाबमूलक दर्ुर्व्यवहारजस्ता प्रकरण बितेको सातायता विशेष चर्चामा रहेका छन् । हाम्रो राजनीतिक परिवेशमा नियमित तवरमा उत्पन्न भइरहने यी र यस्ता प्रकरणका चर्चाले एउटा महत्त्वपूर्ण प्रसङ्गलाई ओझेलमा पारिदियो, जसलाई यति सहजताका साथ नजरअन्दाज गर्न किमार्थ मिल्दैनथ्यो । प्रसङ्ग हालै नेपालमा आयोजित एएफसी च्यालेन्ज कप प्रतियोगितासँग सम्बन्धित छ ।
एएफसी च्यालेन्ज कप प्रतियोगितामा सुरुमै नेपालको लज्जास्पद हार भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक बेलायती नागरिक ग्राह्म रोबर्टस्ले प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिए । नेपाली खेलाडीको हारका लागि आफू जिम्मेवार रहेको भन्दै कमजोरी स्वीकार गरेर प्रशिक्षक रोबर्टस्ले इमानदारी प्रदर्शन गर्नु प्रशंसनीय नै छ । तर, आफ्नो राजीनामाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रोबर्टस्द्वारा दिइएको अभिव्यक्ति भने अत्यन्त गम्भीर प्रकृतिको रह्यो । नेपाली सेनाले आफ्ना दुई खेलाडीलाई मध्यरातमा अपहरण गरेर लग्यो, यहाँ आर्मी शक्तिशाली छ, त्यसैले २१आौँ शताब्दीमा पनि १६औँ शताब्दीको जस्तो घटना भयो, विश्वमा अन्यत्र कतै यस्तो हुँदैन भन्दै नेपाली टिमले पराजय व्यहोर्नुपरेको मुख्य कारण नै सेना रहेको आशय उनले व्यक्त गरे । तर, एक विदेशी नागरिकले आफ्नो कमजोरी ढाकछोप गर्ने सिलसिलामा राष्ट्र्रको सेनाको भूमिकाबारे भद्दा टिप्पणी गर्दासमेत कथित खेलप्रेमीहरू उल्टै उनकै बोलीमा लोली मिलाएर सेनाप्रति खनिन पुगे । यसलाई प्रतियोगितामा भएको हारले पैदा गरेको तत्कालको तरङ्ग मात्र ठानेर चित्त बुझाउने कि नेपाल, नेपाली सेना या आमनेपालीमाथिकै प्रहारका रूपमा बुझ्ने ? प्रश्न उठेको छ ।
यतिबेला नेपाल राजनीतिक रूपमा अत्यन्त असजिलो अवस्थाबाट गुज्रिरहेको जगजाहेर नै छ । पार्टीगत असहमति मात्र होइन जनताको तहतप्कामा समेत विवाद र विभाजनको बिज रोप्ने दुष्प्रयत्नहरू भएका छन् । आन्तरिक रूपमा मात्र नभई यस्ता प्रयत्न अनेक कोणबाट बाह्य प्रयासमै समेत भइरहेका अनुभूति गरिएको छ । यस्तोमा बेलायती प्रशिक्षक रोबर्टस्ले नेपाली सेनामाथि आक्षेप लगाएर औंला उठाउनु कति जायज होला ? नेपाली सेनाप्रति विद्वेष पालेर मौका ढुकी बसेकाहरूलाई यस्ता घटनाले थप उत्साहित तुल्याउन सक्छ भन्नेमा प्रत्येक देशभक्त नेपाली संवेदनशील बन्नु जरुरी छैन र ?
एक प्रशिक्षक भएका नाताले रोबर्टस्लाई, एन्फा नेपालका अध्यक्ष हुनुको नाताले गणेश थापालाई र नेपाली फुटबलसँग जोडिएका प्रत्येकलाई नेपाली टोलीले विजय हासिल गरोस् भन्ने उत्कण्ठा रहनु स्वाभाविक हुन्छ । तर, नेपाल र नेपाली खेलाडीको विजय देख्ने चाहना प्रत्यक्ष सरोकारवालाहरूलाई जत्तिकै नेपाली सेना र आमनेपालीलाई पनि हरदम रहन्छ भनी विचार नगरिनु दु:खदायी छ ।
एएफसीमा नेपाल प्रतिस्पर्धाबाट पिछडिँदै गर्दा उता लगनखेलस्थित राजदल गणमा भइरहेको साउथ एसियन आर्मी स्पोट्र्स मिटमा श्रीलङ्काली सेनाविरुद्ध नेपाली सेना भिड्दै थियो । च्यालेन्जकपमा नेपाल पहिलो चरणबाटै बाहिरिसकेकोले खेल प्रतिष्ठासँग मात्र जोडिएको त सबैका सामु र्छलङ्गै थियो । उता नेपाली सेनाका लागि श्रीलङ्काविरुद्धको खेल फाइनल पुग्नका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको भन्ने नेपाली सेनाको तर्क अत्यन्त स्वाभाविक र जायज रहेकोमा शङ्का गरिरहनुपर्ने अवस्था नै थिएन । यति स्वाभाविक कुरा पनि बुझ्न नसकेकै हुन् त नेपाली खेलजगत्का हस्तीहरूले ? यस घटनासँग जोडेर सेनाजस्तो मर्यादित संस्थालाई बद्नाम तुल्याउन नेपालका खेल पदाधिकारीहरूसमेत लागे, उनहरूकै लहैलहैमा सञ्चारकर्मीहरूसमेत बहकिन पुगे । रोबर्टस्को प्रतिक्रियाका कारण उत्पन्न हुनुपर्ने राष्ट्रिय स्वाभिमान या आत्मसम्मानको तरङ्गानुभूति त कता हो कता, उल्टै एकोहोरो सेनाको आलोचना गरी पूर्वाग्रह प्रदर्शन गरिनु निश्चय पनि नाजायज र दुखद् सन्दर्भ बन्न पुगेको छ ।