‘होलिवाइन माता’लाई काराबास !

‘होलिवाइन माता’लाई काराबास !


कम्युनिष्ट र काङ्ग्रेसका बडा नेताहरूले ‘माता’ मानेर पुजेको ब्यक्ति नै पक्राउ परेको भएपनि यहाँ कसैले लज्जाबोध गरेको पाइएको छैन ।

नेपालमा ठूला नेताहरूलाई ‘होलिवाइन’ खुवाएर चर्चित भएकी दक्षिण कोरियाकी इसाई लेडी डनलाई त्यहाँको एक अदालतले ६ वर्ष कैद सजाय सुनाएको छ । ग्रेसरोड चर्चकी संस्थापक शीन ओकजुमाथि बालदूराचार, ठगी र हिंसाको आरोपमा चलेको मुद्दामा अदालतले ओकजुसहित चर्चका अन्य पाँच जनालाई गत साता कैद सजाय सुनाएको हो ।

नेपालमा युनिफिकेशन चर्चको नाममा विभिन्न गतिविधि हुँदै आएको छ र, त्यसको संयोजन एकनाथ ढकाल नामक ब्यक्तिले गर्दै आएका छन् । ढकाल यतिबेला नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद छन् । केही वर्षअघि नेकपा अस्तित्वमा रहँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर यिनै ढकालले नेपाली नेताहरूलाई होलिवाइन खुवाउने अन्तर्राष्ट्रिय स्तरको मेला राखेका थिए । उक्त कार्यक्रममा उपस्थित भएर केपी सनातन धर्मको पक्षमा सुन्दर मन्तब्य दिँदै वाइन खुवाउने कार्यक्रममा सहभागी नभइकन हिँडेका थिए । माधव नेपाल लगायतले भने रमाइरमाइ होलिवाइन सेवन गरेका थिए ।

भनिन्छ, माधव नेपाल तीन दशक अघिदेखि नै युनिफिकेसन चर्चको सेवामा समर्पित रहँदै आएका थिए । माधवले उक्त चर्चद्वारा विभिन्न मुलुकमा विभिन्न समयमा आयोजित २२ भन्दा बढी कार्यक्रममा प्रमुख अतिथि भएर सहभागी भएका थिए । पछिल्लो समयमा एकनाथ लुसुक्क केपीतिर सरेका छन् ।

कम्युनिष्ट र काङ्ग्रेसका बडा नेताहरूले त्यसरी माता मानेर पुजेको ब्यक्ति नै पक्राउ परेको भएपनि यहाँ कसैले लज्जाबोध गरेको पाइएको छैन ।