बाजुरामा बने प्रहरीका लागि आधुनिक घर

बाजुरामा बने प्रहरीका लागि आधुनिक घर


आइजीपी कुँबरले गरे उद्घाटन

बाजुरा जिल्लामा प्रहरीका लागि आधुनिक भवनहरु निर्माण पूरा भएका छन् । प्रहरी परिसर बाजुरामा कार्यालय भवन, निवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरू निर्माण भएका हुन् । प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले ती भवनको उद्घाटन र निरीक्षण गरे ।

नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप उर्जामय, नविन सोच र उच्चस्तरको हुनुपर्ने चर्चा गर्दै नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यवसायिकताको साथ प्रस्तुत हुनुपर्ने बताए । नागरिकमैत्री, सेवामुखी भावका साथ सम्पूर्ण स्थानीयवासीले भय र त्रासरहित वातावरणमा आ–आफ्नो दैनिक क्रियाकलाप, उद्योग, व्यापार, रोजगार तथा व्यवसाय गर्न पाउने वातावरण निर्माणमा अहोरात्र कटिबद्ध रहन उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिएका छन् ।

आइजीपी कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने उच्श्रृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरीतका गैरकानूनी र अनैतिक कार्य गर्नेविरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै किसिमको दवाव र प्रभावमा नपरी शून्य सहनशिलताका साथ कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन् । उनले नागरिकसँगको उचित समन्वय र सहकार्यमा कानून विपरीतका गतिविधि नियन्त्रण गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्दै स्थानीय जनसमुदायलाई प्रहरीसँग निरन्तर समन्वय, सहकार्यको लागि आग्रहसमेत गरेका छन् । सरकारको कूल ८ करोड ७६ लाख ६७ हजार ६ सय ६४ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण पूरा भएका हुन् ।