गुरु नानक मठ कब्जा गर्न पूर्वसचिवको सक्रियता !

गुरु नानक मठ कब्जा गर्न पूर्वसचिवको सक्रियता !


शिखधर्मीहरूको पवित्र तीर्थस्थल एवम् नेपालको एक महत्वपूर्ण ऐतिहासिक स्थललाई आफ्नो नियन्त्रमा लिन सक्रिय रहेको गिरोहलाई पूर्वसचिव विश्वप्रकाश पण्डितको मुख्य सहयोग रहने गरेको तथ्य फेलापरेको छ । पण्डितले म्हेपीस्थित बिष्णुमती किनारमा रहेको नानक मठ कब्जा गर्न गुठी संस्थान (जहाँ उनले आफ्नो खास मानिसलाई अध्यक्ष बनाएर राखेका छन्) लाई प्रयोग/दुरुपयोग गरिरहेका छन् ।

प्राप्त जानकारीअनुसार सूर्य मल्लको समयमा सन् १५१६ तिर गुरु नानकको नेपाल आगमन भएको थियो । उहाँ आएर बस्नुभएको ठाउँलाई पवित्र स्थल मानी राजा जगतजय मल्लले पाँचवटा गुरुद्वारा सञ्चालन गर्न १६०० रोपनी जग्गा राखी शिखहरूका निम्ति गुठी स्थापना गरिदिएका थिए । म्हेपी, ज्ञानेश्वर, पशुपति बगैँचा, शोभाभगवती र थापाथलीमा शिखधर्मको गतिविधि सञ्चालन गर्न गुठीको सहयोग रहँदै आएको थियो । शिखहरूले उक्त स्थानमा परम्परादेखि नै पूजाआजासहित दुःखी गरीवका लागि लङ्गर चलाउँदै आएका थिए । शिख परम्पराअनुसार गुरुग्रन्थ साहिब नियमित पाठ गर्ने, गुरु नानकको छोरा श्री चन्दजीले चलाएको उदासिन पन्थअनुसार सनातन धर्मको अर्चना र लङ्गर चलाउनका निम्ति स्थापित गुठीबाट आफ्नो कार्य निरन्तर हुँदै आएको थियो ।

तर, २०७२ सालमा महाभूकम्प आएपछि बलात्कार प्रकरणमा जेल परेका बहुचर्चित एवम् विवादास्पद वैष्णब सन्त कृष्णदासले नानक मठ म्हेपीमा केही दिनको लागि आश्रय मागेका थिए । अप्ठ्यारो परेका बेला सहयोग दिनुलाई कर्तब्य ठानी शिखहरूले निज बलात्कारी बाबाका रूपमा चर्चा कमाएका कृष्ण दासलाई आश्रय दिए । त्यसरी मठमा प्रवेश गरेका कृष्ण दासले बिस्तारै कथित शिष्यहरूको सङ्ख्या बढाउँदै लगे र पूर्वसचिव विश्वप्रकाशलाई ‘व्यवसायिक साझेदार’ शिष्य बनाए । तिनै विश्वको साथ पाएपछि कृष्ण दासले नानक मठ नछोड्ने बरू कब्जा गर्ने रणनीति बनाए । शिष्यका रूपमा गुण्डाहरू समेत प्रयोग गरी शिखहरूकै केन्द्रमा शिखले कुनै गतिविधि सञ्चालन गर्न नपाउने स्थिति बनाइयो । बिस्तारै कृष्णदास र विश्वप्रकाशको गिरोहले त्यहाँ रहेका कथित महन्थ र गुठी संस्थानका कर्मचारीलाई समेत मिलाएर पुरै नानक मठ कब्जा गरी त्यसलाई ब्यापारिक लाभका निम्ति प्रयोग गर्ने प्रयास पनि भयो । २०६४ मा नापी हुँदा नानक मठको जमिन कुल ३४ रोपनी ६ आना कायम भएको थियो । सोही जमिनभित्र अढाइ तलाको भवन बनाइ व्यापार गर्न पच्चीस वर्षका निम्ति लिजमा दिने अवैध कार्य पनि तिनै विश्वप्रकाशको आडमा भयो । शिखहरू र स्थानीय बासिन्दाको संयुक्त पहलमा ब्यापारिक भवन निर्माणमा अवरोध पु¥याउँदै नानक मठको उक्त जग्गा संरक्षण गर्ने कार्य भएको थियो ।

अहिले शिखहरूले उक्त धार्मिक स्थलको उच्च्तम विकाश गरी विश्वभरिका शिख धर्मावलम्बीहरूलाई आकर्षित गर्ने योजना बनाएको कोपुण्डोलस्थित गुरुद्वाराका सीइओ रवि सिंहले जानकारी गराएका छन् । उनका अनुसार त्यहाँ निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने योजना पनि बनेको छ । यसरी उक्त धार्मिक केन्द्रको विकाश गर्न शिखहरू सक्रिय भएपछि कृष्णदास र उनका साझेदार विश्वप्रकाशको छटपटी निकै बढेको पाइएको छ । उनीहरूले शिखहरूको यात्रा रोक्न अनेकौँ ब्यक्तिको ढोका धाउन सुरु गरेको बुझिएको छ । तर प्रमुख जिल्ला अधिकारी काठमाडौं र काठमाडौं प्रहरी परिसरले शिखधर्मीको स्थान शिखहरूलाई नै दिलाएर छोड्ने विश्वास सम्बद्ध पक्षलाई दिलाएका छन् ।