साउदीमा कामदार पठाउन रोक

साउदीमा कामदार पठाउन रोक


वैदेशिक रोगगार व्यवासायीहरूले साउदी अरबमा कामदार पठाउन रोक लगाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज आइतबारदेखि साउदी अरेबियामा कामदार पठाउन रोक लगाएको हो ।

संघले सबै रोजगारप्रदायक व्यवसायीलाई साउदीका लागि भिषा जारी नगर्न निर्देशन दिएपछि साउदी जाने काम ठप्पप्रायः भएको छ ।

बायोमेट्रिकसम्बन्धी विवादका कारण तत्कालका लागि कामदार साउदी पठाउन रोकिएको संघका महासचिव मेघनाथ भुर्तेलले जनकारी दिए । नेपालमा रहेको साउदी अरबको दूतावासले बायोमेट्रिकको निर्णय फिर्ता नलिएसम्म कामदार साउदी नपठाउने उनको भनाइ छ ।

महासचिव भुर्तेलले दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघसँग छलफल नगरिकन बायोमेट्रिक लागु गरेको आरोप लगाए ।

संघसँग छलफल नगरी बायोमेट्रिक लागु गरेपछि संघका प्रतिनिधि मन्त्रालय गएका र मन्त्रालयबाट पनि कुनै जानकारी नभएको त्यहाँका अधिकारीहरुले बताएका छन् । श्रम मन्त्रालयले पररापष्ट्र मन्त्रालयललाई पत्र पठाएको छ भने पहिलेको जस्तै व्यवस्था नभएसम्म साउदीले नेपालबाट कामदार नपाउने संघको अडान छ ।

बायोमेट्रिक गर्न पाँचदेखि एक हप्तासम्म समय लाग्छ । यसले कामदारलाई सास्ती हुनुको साथै आर्थिक भार पनि बढाउँछ । धेरै दिन होटलमा बस्दा कामदारलाई आर्थिक बोझ पर्छ । कामदारलाई दुःख दिने कार्य संघलाई स्वीकार्य नभएको उनको तर्क छ ।

हाल दैनिक तीनदेखि चार सय नेपाली रोजगारीका लागि साउदी जाँदै आएका छन् ।