ग्लोबल आइएमई बैंकद्वारा छात्रालाई छात्रवृत्ति

ग्लोबल आइएमई बैंकद्वारा छात्रालाई छात्रवृत्ति


ग्लोबल आइएमई बैंक लि.ले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।

ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने बताइएको छ ।

ग्लोबल आइएमई बैंकले प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्राहरु छनौट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ । अहिलेसम्म १०५ जनालाई उक्त छात्रवृत्ति ब्यवस्था गरी छात्राहरुको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको जनाइएको छ ।

समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरु आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने सो बैंकले विश्वास लिएको छ ।