बदमासी नगरे कुनै पनि सहकारी संघ-संस्था सङ्कटमा नपर्ने

बदमासी नगरे कुनै पनि सहकारी संघ-संस्था सङ्कटमा नपर्ने


गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकहरूले बदमासी नगरे कुनै पनि सहकारी संघ-संस्थाहरु संकटमा नपर्ने बताएका छन् । ललितपुर पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै कार्यकारी प्रमुख शाक्यले सो कुरा बताएका हुन् ।

उनले नेपालमा संकटग्रस्त देखिएका सहकारी संस्थाहरुबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि संचालन गर्नुपर्ने धारणा राखे । सञ्चालक इमान्दार हुने हो भने कुनै पनि सहकारी संस्था संकटमा नपर्ने प्रमुख अतिथि शाक्यको भनाइ थियो ।

ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्दन कर्माचार्यले सहकारी संस्था मार्पmत् डुबेको जनताको रकम फिर्ता गराउन सरकारलाई गम्भीरता देखाउन आग्रह गरेका छन् । कार्यक्रममा होम बचतका सञ्चालक सदस्य सञ्जयलाल अमात्यलाई प्रमुख अतिथि शाक्यले दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यस्तै, उपाध्यक्ष दिनेश मास्केलाई पनि सम्मान गरिनुका साथै कर्मचारी लुमन्ती महर्जनलाई कदर-पत्र प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा आशा लिम्बुलाई नगद सहित पुरस्कृत गरिएको थियो ।

होम सहकारीका अध्यक्ष मुकुन्द महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोरखापत्र दैनिकका सह-सम्पादक शरदराज सुवेदी, उपाध्यक्ष दिनेश मास्के, ललितपुर महानगरपालिका सहकारी शाखाका अधिकृत चिरञ्जीवि पौडेलले आफ्नो मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव सोभना थापाले गरेकी थिइन् । साधारणसभाले व्यवस्थापक करुणा राजभण्डारीले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन र अध्यक्ष मुकुन्द महर्जनले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन पारित गरेको छ ।

ललितपुरका ३, ११, १६, २० र २१ मा कार्यक्षेत्र बनाएको यो सहकारीमा ६ सय २२ सदस्य रहेका छन् । यसमा ६ करोड ९४ लाख ५६ हजार ८ सय २३ रुपैयाँ निक्षेप संकलन छ भने ३ करोड १९ लाख ८६ हजार ८ सय ९१ रुपैयाँमात्र लगानी गरिएको छ ।