धादिङ पुग्यो सेनाको एकीकरण पदयात्रा

धादिङ पुग्यो सेनाको एकीकरण पदयात्रा


  • विकाश रौनियार, धादिङ

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रम्मा प्रयोग गरेको पदमार्गलाई पहिचान गरी नेपाली सेनाले सुरु गरेको एकीकरण पदमार्ग पदयात्रा धादिङ आइपुगको छ ।

नेपाली सेनाले पृथ्वी जयन्तीको अवसर पारेर ऐतिहासिक नेपाल एकीकरणका क्रम्मा प्रयोग भएको पदमार्गको संरक्षणका लागि टर्च, राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहकै पालामा स्थापना भएका नेपाली सेनाका पाँच कम्पनीका झन्डासहित सुरु पदयात्रा धादिङ आइपुगेको हो ।

रिपुमर्दन गणले धादिङको शिवदल गणलाई आज झन्डा र टर्च हस्तान्तरण गरेपछि धादिङ खण्डको ४२ किलोमिटरको पदयात्रामा सुरु गरेको शिवदल गणका ४१ जनाले धादिङ खण्डको पार गरेपछि सोमबार जर्वजंग गणलाई टर्च हस्तान्तरण गर्नेछ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा १८०२ मा नुवाकोटमा हमला गर्दा गोरखा राज्यले बूढीगण्डकी किनारमा रहेको बोर्लाङ्गघाट पार गरी सल्यान्टार, सामरी भञ्ज्याङ हुँदै धादिङको पदमार्ग प्रयोग गरेको इतिहास छ ।

तत्कालीन समयमा काठमाडौंको हनुमान ढोका र गोरखासम्मको दूरी २६ कोस रहेको र कोसैपिच्छे ढुङ्गा गाडिएकोमा सात वटा कोसेढुङ्गा धादिङमा रहेका छन् । सल्यानटनर, रानीपौवा, हांसेपसल, खहरेबजार, लाकुरी, कटुञ्जे, भोक्टिनी र थर्पुमा कोशेढुङ्गा छन् । धादिङ खण्डमा दुई दिन हुने पदयात्रा यिनै कोशेढुङ्गा भएर गरिने छ ।

२१ गतेदेखि सुरु भएको पदयात्रा पौस २७ गते पृथ्वी जयन्तीका दिन काठमाडौं पुगेर सकिने छ ।