जोखिमका तेह्र विषय समेट्दै पूर्वसूचना प्रणालीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपका बारेमा पूर्व सूचना प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणालीअन्तर्गत अब १३ वटा प्रकोपहरूका बारेमा आम जनमानसलाई पूर्वसूचना प्रवाह गर्नेछ । ती १३ प्रकोपहरुमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषण र घुम्रपात रहेका छन् ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले पौष २५ गते बुधबार एनसेलको काठमाडौंस्थित कर्पोरेट कार्यलयमा आयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यका बारेमा आफ्नो उत्साह व्यक्त गर्दै महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले भनेका छन्, ‘पूर्व सूचना प्रणालीमा अग्रणी भुमिका खेल्दै सन् २०१६ देखि बाढीको पूर्व सूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिन चाहन्छु । कुनै प्राकृतिक विपद् घट्नु भन्दा अगावै प्राप्त हुने पूर्व सूचना त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ । ग्रासरुट–टु–ग्लोबल एक्सनको अवधारणा अनुरुप पूर्व सूचना प्रवाहका लागि गरिएको यो सहकार्य एक उत्कृष्ट उदाहरण हो । थप १० मौसममा आधारित जोखिमहरुलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहकालागि गरिएको योे सहकार्य एक अर्को कोशेढुङ्गा हो । एनसेल र अन्य साझेदारहरुसँगको सहकार्यमा गरिएको कार्यले जोखियुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज बनाई हजारौं मानिसहरुको जीवन रक्षा गर्न सफल भएका छौ । बाढीको प्रकोप बढ्दै गए पनि त्यसबाट हुने मानविय क्षति भने धेरै कम भएको छ र यो हामी सबैको सहकार्यले गर्दा सम्भव भएको हो । यसका लागि एनसेलको योगदानको कदर गर्न चाहन्छु ।’
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सो अवसरमा भने, ‘जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्हरुलाई पुर्व सुचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमा हामी गौरवान्वित छौँ । हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्घता अनुरुप गरिएको यो कार्य एक कोशेढुङ्गा हो । सन् २०१६ देखि पूर्व सूचना प्रणालीलाई अघि बढाउँदै आएका छौं र आम नेपाली जनमानसलाई यस प्रणाली मार्फत सम्भावित विपद्बाट जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ । एनसेल र विभागको यो सहकार्य सार्वजनिक निजी साझेदारीमा कसरी प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण हो । एनसेल नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छ र यसै अनुरुप आगामी दिनमा पनि प्रभावकारी कार्यहरुमा सहकार्य गर्न हामी तत्पर छौ ।’
पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई सम्भावित जोखिमको बारेमा सुचित गर्दै आ-आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ ।
ज्ञातव्य छ, सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरि बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पुर्व सूचना प्रवाह गर्दै आएको छ । २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पुर्व सुचना प्रवाह गरेको थियो ।
प्रतिक्रिया