कोशेलीको रूपमा विदेशिने सुकुटी

कोशेलीको रूपमा विदेशिने सुकुटी


  • सुरेन्द्र सुवेदी, काठमाडौं

पोर्चुगलमा रहेकी छोरीलाई देवीमाया बोहोराले एक किलो राँगाको सुकुटी कोशेलीको रुपमा पठाइन् । अध्ययनसँगै रोजगारीमा रहेकी उनकी छोरीको मागअनुसार बोहोराले राजधानीको खिचापोखरीमा सुकुटी खरिद गरेर पठाएकी हुन् ।

बोहोराले जस्तै धेरैले अस्टे«लियाबाहेक विश्वका अधिकांश देशमा काठमाडौंमा उत्पादन भएको सुकुटी कोशेलीको रुपमा पठाउने गरेका छन् । काठमाडौं-२२, खिचापोखरीमा २० वर्षदेखि सुकुटी आफैं बनाएर बिक्री गर्दै आएका ६२ वर्षीय अशोक शाहीका अनुसार राजधानीका दर्जनौँ पसलबाट सुकुटी विदेसिन्छ ।

असन, खिचापोखरी, भोटाहिटीसमेतका मासुजन्य पदार्थ किनबेच हुने स्थानमा सुकुटी किन्नेको भिड नै लाग्छ । राँगाको फलमासु प्रतिकिलो ४ सय ३० रुपैयाँमा खरिद गर्दै सुकुटी बनाउन योग्य मासु राखेर बाँकी हटाउँदा ४ किलो फलमासुको एक किलो सुकुटी बन्ने शाहीले घटना र विचारलाई बताए । उनका अनुसार मासुलाई रिफाइन गरेर आफ्नै घरमा सुकुटी बनाउँदा एक किलो सुकुटीमा २ सय रुपैयाँसम्म नाफा हुन्छ । शाहीले भने, ‘म आफ्नै घरमा सुकुटी बनाउँछु र पसल पनि आफ्नै घरमा भएकोले धेर नाफा नराखी बिक्री गर्छु ।’

खिचापोखरी र असनका केही पसलमा यो सुकुटी प्रतिकिलो २ हजार २ सय रुपैयाँसम्ममा किनबेच भएको पाइयो । त्यहाँका ब्यापारीले आफू सुकुटी नबनाउने भएकोले खरिद गरेर बिक्री गर्दा केही महँगो हुन गएको एक ब्यापारीले बताए ।

नेपाल खोरेत रोग उन्मूलन नभएको देशको रूपमा चिनिन्छ । त्यसैले नेपालबाट विदेशमा पशुचौपाया निकाशी गर्न सकिन्न । यही कारणले विगत ७ वर्षदेखि अस्ट्रेलियामा सुकुटी लैजान रोक लगाइएको ब्यापारीहरूले बताए ।