हस्तकलाले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गरेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

हस्तकलाले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गरेको छ : उपप्रधानमन्त्री श्रेष्ठ


  • सुरेन्द्र सुवेदी, काठमाडौं

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हस्तकला महासंघले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गरेको बताएका छन् । उनले हस्तकला क्षेत्रले उत्पादन, रोजगारी र निकाशी गरेर देशको ब्यापार घाटा कम गर्न योगदान दिएर महत्वपूर्ण भूमिका निभाएको बताए । उनले भने, ‘राष्ट्रलाई यसको संस्कृति, पहिचान दिएर अर्थतन्त्रमा पुर्‍याएको योगदानको गौरव गर्दै निरन्तर प्रवर्द्धन गरेकोमा सबै हस्तकलाका पौरखी हातहरुलाई सम्मान तथा अभिनन्दन गर्न चाहन्छु ।’

‘देशलाई समृद्ध र विकसित बनाउन अहिलेको आवश्यकता भएको तथा मुख्य आर्थिक समृद्धिको कार्यभार सरकारसित रहेको भन्दै दिनदिनै युवा र श्रमिक बाहिर जानबाट रोक्न सकियोस्, यो आवश्यकता हो ।’ नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारणसभाको ललितपुरमा आज (शनिबार) उद्घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘ऐतिहासिक परिवर्तनपछि नेपाली जनताले राखेका अपेक्षा र सोचअनुसार हामीले दिन सकिरहेका छैनौं ।’

जनताले पहिलो कुरा जनसाधारण काम घुस नखाई, भनसुन नगरी, चाकरी नगरी हुनु पर्ने चाहेका छन्, तर त्यो हुन नसकेको उनको भनाइ थियो । देशमा सुशासन र समृद्धि एक अर्कामा जोडिएका छन्, आर्थिक कृयाकलापलाई तीब्रता दिने, ब्यापार घाटा कसरी कम गर्नेतर्फ हाम्रो ध्यान जानु परेको छ, र त्यही कार्यभार पूरा गर्न लागिरहेको उनको भनाइ छ ।

हस्तकला व्यवसायीले राखेका मागहरु सम्बोधन गर्न उद्योग तथा आपूर्ति मन्त्री, आफू र सम्बन्धित निकायका पदाधिकारीसहितको बैठक १५ दिनभित्र राखेर उचित निर्णयमा पुग्ने प्रतिवद्धता उनले जनाएका छन् । सबै प्रदेशमा हस्तकला ग्राम बनाउन सरकारबाट छिट्टै छलफल गरेर निर्णमा पुग्ने आश्वासन पनि उनले दिए ।

कार्यक्रममा ब्यापार तथा निकाशी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति नारदमणि हार्तमछालीसमेतले हस्तकला र यसको क्षेत्रमा भएका कृयाकलापको समीक्षा गर्दै थप प्रगतिका लागि शुभकामना दिएका छन् ।