कोशी प्रदेशमै पहिलोपटक फिदिमबाट सुरक्षा-उपकरण आपूर्ति

कोशी प्रदेशमै पहिलोपटक फिदिमबाट सुरक्षा-उपकरण आपूर्ति


✍ सुरेन्द्र सुवेदी, काठमाडौं

पाँचथर सदरमुकाम फिदिमकी एक उत्साही महिलाले पूर्वमै पहिलो सुरक्षाका उपकरण आपूर्ति गर्न थालेकी छन् । सबै प्रकारका निर्माण कार्यमा व्यक्तिको सुरक्षा र घाइतेहरूको उपचारमा अत्यावश्यक सामान अब फिदिमदेखि झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम र धनकुटासम्म आपूर्ति हुन थालेकोे छ ।

अस्पतालमा प्रयोग गरिने सबै उपकरण, भवनहरू निर्माण गर्दा मजदुरले प्रयोग गर्ने सुरक्षा सामान, पुल बनाउँदा, गृल उद्योगमा काम गर्दादेखि रुख चढ्दा अपनाउनु पर्ने सुरक्षा सामान आपूर्ति गर्न थालेको ड्रिम सेफ्टी एण्ड सर्जिकलकी सञ्चालक कल्पना थापाले बताइन् । उनका अनुसार सार्वजनिक विकास निर्माण र व्यक्तिहरूले गर्ने पूर्वाधार निर्माणमा सुरक्षाका लागि ‘वर्कर युनिफर्म’ अनिवार्य हुन्छ ।

विदेशमा सुरक्षाका उपकरण प्रयोग नगरी कुनै पनि काम गर्न पाइन्न । हाम्रो देशमा पनि पछिल्लो समय सुरक्षा उपकरण अनिवार्य बन्दै गएको छ । ‘हार्नेस बेल्ट, हेलमेट, आइरनप्रुप जुत्ता, रोगीहरूले प्रयोग गर्ने कुर्सीदेखि सर्जिकलका सबै सामान उपलब्ध गराएकी छु’, थापाले भनिन्– ‘यस्ता सामानको माग दिनदिनै बढ्दो छ, तेह्रथुम, ताप्लेजुङ, इलाम, धनकुटासम्मबाट माग आउन थालेको छ ।’

फिदिममा अस्पतालहरूले ग्रिल उद्योगमा निर्मित फलामका बेडहरू प्रयोग गरेको पनि पाइन्छ । ती बेडहरू मापदण्ड र सुरक्षाका दृष्टिले मान्य हुन्नन् । थापाका अनुसार पहाडी क्षेत्रका अस्पतालहरूमा चिकित्सकलाई राम्रो सेवा सुविधा दिएर राख्न सकेमा अस्पतालहरू चल्छन् । अस्पतालहरू चल्न सक्षम भएमा यस्ता सुरक्षाका सामानको खपत यहीँ हुन्छ ।
व्यापार प्रशासनमा स्नाकोत्तर गरेकी थापाको यो परीक्षण अभियान हो । उनले भनिन्, ‘सुरुको चरणमा २५ लाख रुपैयाँ लगानी गरेकी छु, २ वर्षपछि भने यसले मुनाफा दिन्छ भन्ने विश्वास छ ।’

विश्वका विपद् जोखिम उच्च रहेका २२ देशमा नेपाल पनि पर्छ । वर्षेनि बाढी पहिरो, डुबानसमेतका कारण धेरैको ज्यान गइरहेको छ । उचित सुरक्षाका उपकरण प्रयोग गर्न सकेमा दुर्घटना कम हुने, भएका घाइतेको उपचार सम्भव हुनेजस्ता कुरामा स्थानीय सरकारले ध्यान दिन सकेमा नागरिकको ज्यान जोगाउन सकिने फिदिम–१ का व्यवसायी गोपाल बाँस्कोटाको बुझाइ छ ।