फिदिम खानेपानीमा ब्यापक घोटाला

फिदिम खानेपानीमा ब्यापक घोटाला


चार कर्मचारी निस्कासित, तीन वटा गाडी गायब

फिदिम खानेपानी उपभोक्ता समितिमा ठूलो मात्रामा रकम हिनामिना भएको खुल्न आएको छ । नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले भागबण्डा गरेर निर्माण गरेको उपभोक्ता समितिले चलाउने तीनवटा गाडी पनि बेपत्ता पारिएको छ । ती गाडी कहाँ छन्, पत्तो छैन ।

२०५७ मा फिदिम नगरपालिका-१, २ र ४ का बासिन्दालाई सहजरूपमा खानेपानीको व्यवस्था गर्न स्थापना भएको समितिले एसियाली विकास बैंकबाट १० करोड रुपैयाँ ऋण लिएको छ । आयोजना निर्माण र पानी वितरणका लागि पाइपलाइन बिस्तार तथा ट्याङ्की बनाउन भन्दै लिएको उक्त ऋणमध्ये १७ वर्षमा ५५ लाख रुपैयाँमात्र तिरिएको छ भने उपभोक्ताबाट उठाएको रकम कति हिनामिना भयो त्यसको कुनै रेडर्क नै नभएको समितिका सदस्य अजेन्द्र वाइवा तामाङले घटना र विचारलाई बताए । उनले भने, ‘अहिलेको हिसाबमा ५ करोड रुपैयाँबढी हिनामिना भएको देखिन्छ ।’

११ किलोमिटर लामो पाइपलाइनबाट नाम्दुखोलामा मुहान थापेर ल्याएको पानी २ हजार ५ सय ५६ घर धुरीलाई वितरण गरिन्छ । फिदिम-४ का गढी, जोरसाल, शान्तिपुर, सारन्ता, थाक्ले, सरखण्डे र सालघारीजस्ता सुख्खा क्षेत्रमा पानीका मुहान नभएर यही उपभोक्ता समितिले वितरण गरेको पानीको भर पर्नुपर्छ । उपभोक्ताले न्यूनतम २ सय ८५ रुपैयाँले १० हजार लिटर र त्यसभन्दा बढी प्रयोग गर्नेले प्रति हजार लिटर ४८ रुपैयाँ थप गर्दै मासिक महसूल तिर्छन् । तर, यसरी गरिव र विपन्न उपभोक्ताले तिरेको रकम नै हिनामिना गरेपछि समिति यसको कडा छानविनका लागि लागिपरेको समितिका अध्यक्ष्य प्रकाश गुरुङले बताए ।

उनका अनुसार विगतको दलीय भागबण्डामा निर्माण गरेको समितिले १ करोड ५६ लाख रुपैयाँ पानी महसूलको रकम वक्यौता राखेको थियो, त्योमध्ये ५५ लाख रुपैयाँ अहिलेको समितिले उठाएको छ भने बाँकी रकम कहाँ छ, त्यसको रेकर्ड नै छैन । उपभोक्ताले महसूल तिर्नु पर्ने देखिन्न । समितिको खातामा भने महसूल बाँकी रहेको उल्लेख छ । यसरी हेर्दा १ करोड १ लाख रुपैयाँबढी महसूलको रकम नै हिनामिना भएको छ ।

विगतको समितिका अध्यक्ष एमालेका गजाधर भट्टराई, कोषाध्यक्ष माओवादीका महेन्द्र नेम्वाङ, सदस्य काङ्ग्रेसका कृष्णप्रसाद बास्कोटा र कार्यालय प्रमुख राप्रपाका छवि कार्कीले रकम हिनामिना गरेको अहिलेको समितिको दाबी छ ।

समितिको रकम हिनामिना गरेको भन्दै कार्यालय प्रमुख कार्कीलाई दुई महिना निलम्बन गरिएको छ भने चौकीदार भोजकुमार पोखरेल पनि निलम्बनमा परेका छन् । कम्प्युटरमा काम गर्ने गीता बाँस्कोटा र सविना राईलाई अवकास दिएको सदस्य तामाङले बताए । गत माघमा नयाँ समिति निर्वाचित भएको हो । नयाँ समितिलाई हालसम्म बरबुझारथ गरिएको छैन । जसकै कारण समितिको लेखापरीक्षणसमेत गर्न नपाएको अध्यक्ष गुरुङको भनाइ छ ।

समितिले दुई वटा ट्याक्टर र एउटा टोयोटा पिकअप खरिद गरेको थियो । ती गाडी अहिले छैनन् । कहाँ छन्, जानकारी नभएको समितिका पदाधिकारीहरू बताउँछन् । यो प्रकरण अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ । आयोग श्रोतका अनुसार छानविन अघि बढिसकेको छ । श्रोत भन्छ, ‘अनियमितता भएको उजुरी आएको छ, छानवीन प्रक्रिया सुरु भएको छ ।’