मेयरको मन्त्रिमण्डल !?

मेयरको मन्त्रिमण्डल !?


राजधानी काठमाडौका मेयर बालेन्द्र साहले विभिन्न विभागीय कार्य विभाजनसहितको सल्लाहकार मण्डल गठन गरेका छन् । सल्लाहकार भनिएको टोलिका सदस्यहरूको आकारप्रकारले यो सल्लाहकार नभएर ‘मन्त्रिपरिषद्’ भएको आभाष दिलाउँछ ।

आठ जना सल्लाहकारहरूको बेग्लै टोली कार्यरत भएको अवस्थामा विभागीय जिम्मेवारीसहित एक्काईस सदस्यीय जम्बो टोली निर्माण गरिएपछि मानिसले यसलाई ‘बालेन्द्रको मन्त्रिमण्डल’ भनी टिप्पणी गरेका छन् ।

मण्डलमा डाक्टर जगदीशप्रसाद अग्रवाललाई स्वास्थ्य–सल्लाहकार भनिएको छ भने स्वास्थ्य विभाग हेर्ने जिम्मेवारी डा. विशाल ज्ञवालीलाई दिइएको छ । जलश्रोत तथा खानेपानीमा दीपक ज्ञवाली, ट्राफिक ब्यवस्थापनमा जगतमान श्रेष्ठ, पूर्वाधारमा सुनिल लम्साल, ब्यवस्थापनमा कुमार ब्यन्जनकार, फोहोरमैला ब्यवस्थापनमा अर्जुन घिमिरे, जनसम्पर्क परामर्शदातामा अनुष्का श्रेष्ठ, कानूनमा शङ्कर पुडासैनी, ओमप्रकाश अर्याल, कुमारी खरेल, दीना श्रेष्ठ र महेशकुमार नेपाल, खाद्य स्वच्छता तथा गुणस्तरमा सन्तोष साह, जीवनप्रभा लामा र सन्तोष गिरी तथा सचिवालाय सल्लाहकार भनेर सुरेन्द्र बजगाईं, धीरज जोशी, नवराज खनाल र सस्मित पोखरेल तथा स्वकीय सचिवमा भुपदेव साहको चयन भएको छ ।

पहिले नै आठ जना सल्लाहकार हुँदाहुँदै बालेन्द्रले ब्ययभार अधिक बढ्ने गरी यो जम्बो टोली खडा गर्नुलाई जानकारहरूले उटपट्याङपूर्ण कार्य भनी टिप्पणी गरेका छन् ।