सौराहामा पर्यटक बढाउन ‘घुमौँ सौराहा’ अभियान

सौराहामा पर्यटक बढाउन ‘घुमौँ सौराहा’ अभियान


चितवनको सौराहामा पर्यटक बढाउन स्थानीय व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान चलाउने तयारी गरेका हुन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले ‘घुमौँ सौराहा’ अभियान लिएर पश्चिम नेपालका विभिन्न ठाउँमा जाने तयारी गरिएको जानकारी दिँदै भनेका छन्, ‘पछिल्लो समय सौराहा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, थप पर्यटक ल्याउन अभियान चलाउने तयारीमा छौँ ।’

सौराहामा आउने चिनियाँ र भारतिय पर्यटकको सङ्ख्यासमेत उल्लेख्य रहेको भन्दै यी दुई देशमा समेत अभियान चलाइने उनले जानकारी दिए । यो समयमा पनि ६० देखि ६५ प्रतिशत पर्यटक छन्, अघिल्लो बर्षको तुलनामा ५० प्रतिशत बढि पर्यटक घुम्न यहाँ आएका गिरीको भनाइ छ ।

चीन र भारतसँगै तेस्रो मुलुकबाट पनि सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ मा तीन लाख पर्यटक सौराहा भित्रिएकामा सन् २०२४ मा तीन लाख ५० हजार पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गिरीले बताए । उनले जिप सफारी, हात्ती सफारीलगायतका कार्यक्रमहरू भएपनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको उल्लेख गरे ।

सरकारले निकुञ्जमा अन्य रुट पनि खुला गरिदिए पर्यटकको लागि राम्रो हुने गिरीको भनाइ छ । नेपालको सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको सङ्ख्या बढ्न नसकेको र हवाई यातायात पनि महँगो भएको अध्यक्ष गिरीको गुनसो थियो । उनले पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको धारणा राखे ।

सौराहामा मात्र साना-ठूला गरी एक सय ४१ होटल छन् । दैनिक ६ हजार चार सय २६ पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । यहाँ नयाँ होटल पनि खुल्ने क्रम जारी छ । यहाँ झण्डै दुई सय रेष्टुराँ छन् । रेवानमा मात्रै आबद्ध ६५ रेष्टुराँ आबद्ध छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहने गरेको छ ।