‘व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गरेर कर छली’

‘व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गरेर कर छली’


व्यक्तिगत बैंक खाताबाट व्यावसायिक प्रकृतिका कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ ।

मंगलबार सार्वजनिक भएको नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ (फाइनान्सियल इन्टेलिजेन्स युनिट-एफआइयु नेपाल) को प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका व्यावसायिक कारोबारमा संस्थागत वा व्यावसायिक खाताबाट नभई व्यक्तिगत खाताबाट रकम लेनदेन गरेर कर छली हुने गरेको देखिएको हो ।

एफआइयु नेपालको वार्षिक प्रतिवेदन २०२२∕२३ अनुसार सन् २०२० जनवरीदेखि सन् २०२२ डिसेम्बरसम्म विश्लेषण गरिएका शङ्कास्पद कारोबारमध्ये ३७ प्रतिशत कारोबारमा व्यावसायिक प्रकृतिका कामका लागि व्यक्तिगत बैंक खाता प्रयोग भइरहेको देखिएको छ ।

यसरी व्यावसायिक प्रकृतिको कारोबारमा व्यक्तिगत बैंक खाता प्रयोग भएर गरिने शङ्कास्पद लेनदेनको सङ्ख्या मासिक औसत ६५ वटा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

‘यो प्रकृतिको शङ्कास्पद कारोबार भनेर वित्तीय जानकारी एकाइमा आउनेमध्ये ४८ प्रतिशत सामित्व व्यवसायसँग सम्बन्धित, ३३ प्रतिशत प्राइभेट लिमिटेडसँग सम्बन्धित र १९ प्रतिशत व्यवसाय कस्ता प्रकृतिका कम्पनी हुन् भन्ने खुलेको छैन’, प्रतिवेदनमा भनिएको छ, ‘क्षेत्रगत रुपमा व्यापार, उत्पादन, होटल तथा रेष्टुराँ, ट्राभल, मेडिकललगायतका क्षेत्रमा यस्तो कारोबार बढी भइरहेको छ ।’

एउटै व्यवसायको कारोबारका लागि धेरैवटा बैंक खाता प्रयोग हुने गरेको पनि देटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी व्यावसायिक कारोबारमा व्यक्तिगत खाता प्रयोग हुनेमा कम्पनीका सञ्चालक, शेयरधनी, परिवारका सदस्य तथा कर्मचारी बढी हुने गरेको प्रतिवेदनमा औंल्याइएको छ ।

वित्तीय जानकारी एकाइले दुई सय चार मामलाको अध्ययन तथा विश्लेषण गरेकामा एक सय १३ मामलालाई थप अध्ययन तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग तथा आन्तरिक राजस्व विभागमा पठाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार ती मामलामा शङ्कास्पद कारोबार भएको रकम रू १२ अर्ब बराबर रहेको छ ।

कर छलीका लागि व्यावसायिक कारोबारमा व्यक्तिगत बैंक खाता प्रयोग गरिनुलाई गम्भीर समस्याका रुपमा औंल्याउँदै प्रतिवेदनले यस्तो कार्य रोक्नका लागि सबै नियामक र सरोकारवाला निकायले भूमिका खेल्नुपर्ने सुझाव दिएको छ ।