सशस्त्र प्रहरीलाई सुदृढ सङ्गठन बनाउन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

सशस्त्र प्रहरीलाई सुदृढ सङ्गठन बनाउन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ


सशस्त्र प्रहरी बललाई सुदृढ सङ्गठनका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।

२३औँ सशस्त्र प्रहरी दिवसका अवसरमा मंगलबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सङ्गठनको सर्वाङ्गीण विकास तथा स्तरोन्नतिका लागि विद्यमान कानुनको समसामयिक पुनरावलोकन गर्न सशस्त्र प्रहरी ऐन निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

सीमा सुरक्षा तथा सीमास्तम्भ मर्मतसम्भार, सीमापार अवैध चोरीपैठारी, मानव बेचबिखन तथा लागुपदार्थको ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरी विशेष फौजका रुपमा परिचालित भएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सशस्त्र प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन क्रियाशील रहेको बताउनुभयो ।

सीमा क्षेत्रमा रहेको सुरक्षा पोस्टलाई हातहतियार, बन्दोबस्ती, पूर्वाधार र जनशक्तियुक्त तुल्याइ अन्य सुरक्षा निकायसरह बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सीमा क्षेत्रका बासिन्दाको मन जितेर काम गर्न निर्देशन दिनुभयो ।

भूकम्प, आगलागी, बाढीपहिरोलगायत विपद्का समयमा गरेका कामको सरहाना गर्दै गृहमन्त्री श्रेष्ठले सशस्त्र प्रहरीको उद्धार क्षमता थप प्रभावकारी बनाउन आवश्यक स्रोत साधनको व्यवस्था गरिने बताउनुभयो ।

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले राज्यले सुम्पेको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्दै आएको उल्लेख गर्दै राज्यका सामु आइपरेका सुरक्षा चुनौतीलाई परास्त गर्न हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । उहाँले जनअपेक्षित सुरक्षालाई सङ्गठनको सरोकारका रुपमा ग्रहण गरी राज्यको जिम्मेवार र व्यावसायिक सुरक्षा निकायका रुपमा परिचय बनाउँदै जनतामा स्थान जमाउन सफल भएको बताउनुभयो ।

समारोहमा प्रमुख अतिथी प्रधानमन्त्री ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलले प्रकाशन गरेको वर्ष पुस्तकको विमोचन गर्नुभएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सीमाविद् बुद्धिनारायण श्रेष्ठ र प्राडा रमेशराज कुँवरलाई एपिएफ सम्मान प्रदान गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दिलीपकुमार श्रेष्ठलाई एपिएफ लाइफटाइम अवार्ड प्रदान गर्नुभएको थियो । समारोहमा सशस्त्र प्रहरीका कलाकारले विविध सांस्कृतिक प्रस्तुति र बलले निर्वाह गर्दै आएको जिम्मेवारीसम्बन्धी प्रहसन प्रस्तुत गरेका थिए ।

photo: rss