हिन्दी भाषामा छुट्टै ‘मधेश गान’ !

हिन्दी भाषामा छुट्टै ‘मधेश गान’ !


नेपालको अखण्डित सार्वभौमिकतालाई विभाजन गराइ सङ्घीयतामा जानुको रहस्य बिस्तारै खुल्दै गएको छ । माघ ५ गते नेपालको वीरगन्जमा ‘जय मधेश’ बोलको एउटा त्यस्तो गीत सार्वजनिक गरियो जसमा देशको नाम र सङ्केत कुनै शब्दमा भेटिँदैन ! मधेश गानका रूपमा हिन्दी र मैथिली भाषामा जारी गरिएको ‘मधेश गान’ले नेपाली राष्ट्रियता र नेपाल राष्ट्रलाई पूरै उपेक्षा गरेको छ ।

उदितनारायण झा र रविराज साह नामक गायकको स्वरमा रहेको गाना सार्वजनिक गर्न वीरगन्जमा एउटा भब्य समारोहको आयोजना गरिएको थियो । समारोहमा दुई नम्बर प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, उपेन्द्र यादव र केही सांसदहरू उपस्थित थिए ।

स्मरणीय छ, कथित मधेश प्रदेशको संसद्मा नेपाली पोशाक दौरा-सुरुवाल, कोट र टोपी लगाएर सूरक्षाकर्मीसमेत प्रवेश गर्न पाउँदैनन् । सरकारी कामकाजको भाषा हिन्दीलाई समेत बनाइएको छ । प्रदेश सरकारसम्बद्ध कुनै पनि कार्यालयको साइनबोर्डमा ‘नेपाल’ शब्दलाई स्थान दिने गरिएको छैन । तराईमा बसोबास गर्ने तर आफूलाई मधेशी नठान्ने नेपालीहरूको त्यहाँ पूर्ण उपेक्षा भइरहेको छ ।

काठमाडौंमा समावेशिताको ठूला गफ दिने मधेशी नेताहरूले तराईमा व्यवहारतः समावेशिताको अवधारणालाई पूरै इन्कार गरेका छन् । अब प्रदेशको मातहतमा प्रहरीसमेत राखिने बताइएको छ । छुट्टै प्रहरी, छुट्टै भाषा, छुट्टाछुट्टै भेषभुषा र बेग्लै नियतका साथ यसरी नै अघि बढ्न दिने हो भने मधेशको सार्वभौमिकता कहाँ निहित रहला भन्ने गम्भीर प्रश्न उठ्ने स्थिति बनिरहेको छ ।