छोरासँगको अंशविवादमा व्यवसायीले ज्यान फालेको खुलासा

छोरासँगको अंशविवादमा व्यवसायीले ज्यान फालेको खुलासा


घरको छतबाट फालहानेका धनगढीका व्यवसायी सन्तोष अग्रवालको परिवारमा अंशवण्डासम्बन्धी विवाद रहेको बुझिएको छ ।

धनगढी उपमहानगरपालिक-४ को बसपार्कस्थित आफ्नै घरको तल्लो तलामा सन्दीप स्टोर सञ्चालन गरी श्रृङ्गार सामानको होलसेल व्यवसाय गर्दै आएका अग्रवालको बुधबार स्थानीय नवजीवन अस्पतालमा मृत्यु भएको थियो ।

छोरासँग अंशबण्डाको विषयमा विवाद भएपछि घरको पाचौं तलाबाट फालहानेका अग्रवालको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार सन्तोषको काठमाडौं बस्दै आएका जेठा छोरा बुधबार बिहान घर आएका थिए । कान्छा छोराचाहिँ सन्तोषसँग धनगढीमै बस्थे । अग्रवाल बुधबार बिहान आफ्नै व्यवसायस्थल सन्दीप स्टोरमा काम गरिरहेका थिए । त्यहीँ पुगेर जेठा छोराले अंशबण्डाको विषयमा कुरा उठाएपछि बाबुछोराबीच विवाद भएको थियो । त्यसपछि सन्तोषले छोरालाई ‘तिम्रो आमालाई बोलाएर ल्याउँछु, पख’ भन्दै पसलबाट माथि उक्लिएका थिए ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा अग्रवाल घरको छतमा चढेका बेला स्थानीयले त्यसो नगर्न भनेको सुनिन्छ, तर उनी कसैको कुरा सुनेकोनसुन्यै गरी फालहानेको देखिएको छ ।

‘पसलमा बिल काटिरहनुभएका उहाँ विवादपछि तिम्रो आमालाई बोलाएर ल्याउँछु भनेर घरभित्र प्रवेश गर्नुभएकोरहेछ, तर एकाएक छतमाथिबाट भुइँमा हाम फाल्नुभयो’ भन्ने प्रहरी स्रोतको भनाइ छ ।

अग्रवाललाई परिवारका सदस्य र छिमेकीले अस्पताल लगेका थिए, तर उनलाई बचाउन सकिएन । अग्रवालको कान्छा छोराको विवाह केही महिनाअघिमात्र भएको थियो । उनको परिवारमा लामो समयदेखि अंशबण्डासम्बन्धी विवाद रहेको पाइएको प्रहरीको भनाइ छ ।