‘जिम्मेवार पदमा बसेका व्यक्तिले सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने’

‘जिम्मेवार पदमा बसेका व्यक्तिले सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने’


प्रधानमन्त्री प्रचण्डले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको धारणा राखेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले सो बताएका हुन् ।

पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायाधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजिक सद्भाव र एकतालाई खलबल्याउन र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको जनाउँदै संविधान र कानुनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताए । पूर्वन्यायाधीशहरुले विगतमा संविधान र कानुनमाथि आक्रमण हुँदा आवाज उठाएको जनाउँदै उनले आगामी दिनमा पनि राज्यका विभिन्न अङ्ग र निकायले गर्ने काममा संविधान र कानुनको पालना भए नभएकोबारे निरन्तर निगरानी गरिरहनुपर्ने औँल्याए ।

राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भीड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै प्रधानमन्त्री प्रचण्डले संविधान र कानुनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने तर्क गरे ।

प्रधानमन्त्रीसँगको छलफलमा पूर्वन्यायाधीशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानुनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव राखेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

photo: rss