चोरीमा संलग्न १९ जना पक्राउ
- सुरेन्द्र सुवेदी, काठमाडौं
राजधानीमा चोरिएका १७ वटा दुईचक्के सवारीसाधन फेला पारेर सम्बन्ति धनीलाई जिम्मा लगाइको छ । ट्राफिक प्रहरीले हराएका र चोरिएका ३ वटा स्कुटर र १४ वटा मोटरसाइकल फेला पारेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले सम्बन्धित धनीलाई ती सवारीसाधन हस्तान्तरण गरे ।
ट्राफिक प्रहरी कार्यालयमा परेका निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा उपत्यकाका जोरपाटी, काँडाघारी, बालाजु, स्वयम्भु, पानीपोखरी, मालीगाउँ, चाल्नाखेल फर्पिङ र रामशाहपथलगायतका स्थानमा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।
ती साधन खोजी गर्ने क्रममा फेला परेका २ सय २० ओटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १२ ओटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले बताए । चालु आर्थिक वर्षको हालसम्म चोरीका १६ ओटा २ पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न १९ जनालाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्न एसएसपी भट्टले आग्रह गरेका छन् ।
प्रतिक्रिया