माओवादी घटकबीच एकता अपरिहार्य : प्रचण्ड

माओवादी घटकबीच एकता अपरिहार्य : प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा शनिबार शहीद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरे ।

‘देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु’, विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै उनले भने । जनयुद्धका शहीद, बेपत्ता तथा घाइतेलाई राज्यले कुनै न कुनै रूपमा सम्बोधन गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जनयुद्धका घाइतेको पुनः वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानका संरक्षकसमेत रहेका अध्यक्ष प्रचण्डले प्रतिष्ठानले सञ्चालन गरेको विद्यालयको पहिचान हुने गरी राज्यले जिम्मामा लिने विश्वास दिलाए । सदनमा पेस भएको विद्यालय शिक्षा विधेयकले पनि त्यस्ता विद्यालयलाई समेट्ने उनको भनाइ थियो ।

शहीदलाई विभाजन गर्न हुँदैन भन्ने मनसायअनुसार प्रतिष्ठान एकताबद्ध रहेको उल्लेख गर्दै उनले अब सबै माओवादी विचारधारा केन्द्रीकृत हुने विश्वास व्यक्त गरे । ‘समान त्याग र बलिदान गरेका सपुतहरू एउटै केन्द्रमा आबद्ध हुने अवस्था आउँदैछ, वैज्ञानिक समाजवादका उद्देश्य बोकेका सबैलाई एकै ठाउँमा ल्याउन प्रतिष्ठानको पनि प्रयास होस्, त्यही एकताको पाटोबाट नयाँ पुस्ताको नेतृत्व पैदा हुनेछ’, उनले भने ।

माओवादी पार्टी तथा आफ्नो नेतृत्वले गरेका सकारात्मक कामलाई जनतासमक्ष पुऱ्याउन आग्रह गर्दै उनले सरकारले थालनी गरेको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका कामले जनतामा आशा जगाउन सफल भएको बताए । शान्तिप्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुङ्गिने विश्वास व्यक्त गरे । नेपालको शान्ति प्रक्रियाको ‘मोडल’ बाह्य जगतका लागि पनि अनुकरणीय रहेको उनको भनाइ थियो ।

प्रतिष्ठानका अध्यक्ष धर्मशिला चापागाईंले प्रतिष्ठानलाई एकताको केन्द्रबिन्दु बनाएर अगाडि बढाइने बताइन् ।

photo: rss