नेकपा (एस)ले पार्टी-नेतृत्वमा उमेरको हदबन्दी हटाउने

नेकपा (एस)ले पार्टी-नेतृत्वमा उमेरको हदबन्दी हटाउने


माधव नेपालनेतृत्वको नेकपा (एकीकृत समाजवादी)को दोस्रो राष्ट्रिय परिषद् बैठक आजबाट काठमाडौंमा शुरु हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरु भइ दुई दिनसम्म चल्ने सो बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने भएको छ ।

पार्टीमातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएकाले उक्त एजेण्डालाई प्राथमिकता राखिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । पार्टीको विधान हेरफेर गर्न परिषद् बैठकमा छलफल गर्ने उद्देश्यले पार्टीनिकट सबै कमिटीबाट सुझाव सङ्कलन गरिएको बताइएको छ ।

विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान संशोधन गर्न आग्रह गरिएको छ ।

प्रवक्ता खतिवडाका अनुसार बैठकमा सहभागी हुन देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुँदैछन् । बैठकको समाचार प्रचारप्रसारका लागि सूचना सङ्कलन केन्द्र, सहभागी प्रतिनिधिको परिचयपत्र व्यवस्थापन, सुरक्षा व्यवस्थाका लागि स्वयंसेवकको व्यवस्था गरिएको बैठकको लोगो सार्वजनिक गरिएको छ ।

पार्टी अध्यक्ष नेपालले उद्घाटन गर्ने बैठकले विधान संशोधन गरेपछि त्यसलाई अनुमोदन गरिने बताइएको छ । नयाँ विधानका आधारमा आगामी जेठमा पार्टीले काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।