सोलुखुम्बु र रामेछापको सिमानामा पर्ने लिखु ‘२’ जलविद्युत् आयोजनाको विद्युत् मेसिन एक्कासी बन्द भएर खोलामा पानीको बहाव बढ्दा एक दुःखद घटना घटेको छ । आयोजनाको मेसिन बन्द भएर बाँधको पानी खोलातर्फ नै फर्किंदा शनिबार जलाउँदै गएको शव खोलाले बगाएको छ ।
लिखु खोलामा जलाउँदै गरेको रामेछापको उमाकुण्ड गाउँपालिका-१ का ३२ वर्षीय झपडबहादुर थापाको शव बगाएर बेपत्ता भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएअनुसार शनिबार साँझ आयोजनाको मेसिन बन्द हुँदा बाँध एक्कासी रोकिएर पानी खोलातर्फ नै फर्किदा उमाकुञ्ड गाउँपालिका-१ बाल्दिङ स्थित खोलामा जलाउँदै गरेको शव बगाएको हो ।
जिप्रका रामेछापका कार्यालय प्रमुख डिएस्पी होमबहादुर पराजुलीका अनुसार मेसिन ट्रिप खाएर बाँधको पानी खोलातर्फ फर्किंदा खोलामा जलाउँदै गरेको शव बगाएर बेपत्ता भएको भन्ने विषयमा अनुसन्धान जारी छ । सोलुको किन्जा प्रहरी चौकीबाट प्रहरीटोली घटनास्थलतर्फ गएको उनको भनाइ छ ।
आधा जलिसकेको शव खोलाले बगाएर बेपत्ता बनाएको छ भने मलामीले भागेर ज्यान जोगाएको लिखुपिकेका राजेन्द्र बस्नेतलाई उद्धृत गर्दै राससले जनाएको छ । बस्नेतले भनेका छन्, ‘यो आयोजनाको लापरबाही हो, मलामी गएका केही मानिस पनि सम्पर्कमा आएका छैनन्, यो विषयमा हामी जानकारी लिँदैछौँ ।’
उक्त आयोजनाका सम्पर्क अधिकृत दीपक नेपालका अनुसार विद्युत् मेसिन एक्कासी बन्द भएर बाँधतर्फको पानी खोलामा नै फर्किदा उक्त घटना भएको हो । कूल ५५ मेगावाट क्षमताको सो आयोजनाले अहिले पानी पर्याप्त नहुँदा आठ मेगावाट मात्रै विद्युत् उत्पादन गर्दै आएको उनको भनाइ छ ।
एमभी दुगडद्वारा प्रवद्र्धित उक्त आयोजना ग्लोबल हाइड्रोपावर एशोसियट लिमिटेडले निर्माण गरेको हो ।
प्रतिक्रिया