फिदिम खानेपानीका उपभोक्ता दैनिक श्रममा

फिदिम खानेपानीका उपभोक्ता दैनिक श्रममा


‘घोटलापक्षीय’ सहभागी हुँदैनन्

  • सुरेन्द्र सुवेदी, काठमाडौं

पाँचथर सदरमुकाम फिदिम खानेपानी उपभोक्ता समितिका उपभोक्ता दैनिक जनश्रममा जुटेका छन् । फिदिम–४, सालघारीदेखि १८ किलोमिटर मुहान फिदिम-१३ र १४ को बीच आतेवा खोलामा नयाँ मूल थापलेर थप पानी ल्याउन उपभोक्ताहरू दैनिक श्रममा जुटेको समिति अध्यक्ष प्रकाश गुरुङले घटना र विचारलाई बताए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले जनश्रम गर्दै ४१ किलोमिटर लामो दूरीबाट पानी ल्याएर धराने जनतालाई खुवाएको सिको गर्दै यहाँका उपभोक्ता पनि जनश्रममा परिचालित भएको पाइन्छ । गत वर्ष चैतदेखि यो अभियानकै रुपमा सञ्चालित छ ।

जनश्रम कार्यक्रममा नेपाल प्रहरीबाट दैनिक तीन जनाले सघाइरहेका छन् भने सशस्त्र र नेपाली सेना भने ६–७ पटक आएपछि आउन छोडेको एक उपभोक्ताले बताए । पानीको मूहान जाने बाटो नै छैन । महभीरमा कडा चट्टानको पहरो छ । त्यो स्थानमा बाटो बनाउने काम पनि भइरहेको छ भने मूहानसम्म पुग्न थप बाटो र पाइप अड्याउने पर्खालसमेत लगाउने काम भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

फिदिमको चारवटा वडाका गढी, तिरतिरे, जोरसाल, शान्तिपुर, थाक्ले, सरखण्डे, सालघारीसमेतका गाउँ सुख्खा क्षेत्र हुन् । यी स्थानमा सिंचाइको पनि व्यवस्था गर्न थालिएको छ । समितिका सहसचिव डने शेर्पाका अनुसार पहिले विछ्याएको पाइप हटाएर नयाँ लगाएपछि पुरानो पाइपमा फिदिमको नालीको पानी ती स्थानमा लगिएको छ । यसले त्यहाँका उपभोक्ता करेसाबारीमा तरकारी खेती गर्न थालेका छन् ।

दैनिक २५ जनासम्म श्रममा जुट्ने गरेका छन् भने विगतको समितिले गरेका थुप्रै अनियमितता पक्षीय र समिति निर्वाचनमा पराजित भएकाहरू भने जनश्रममा गएका छैनन् । फिदिम बजारका अधिकांश जनश्रममा नगएको एक समिति सदस्यले बताए । ‘यो जनश्रम अभियान निरन्तर चल्नेछ, जबसम्म उपभोक्तालाई २४ घण्टा नै पानीको ब्यवस्था गर्न सकिन्न, श्रम चलिरहन्छ’– समिति सदस्य अजेन्द्र वाइवा तामाङ भन्छन् ।

यहाँ श्रमसँगै कडा चट्टान फोर्न र मेसिनरी पर्खाल लगाउन दैनिक ५ सयदेखि ७ सय रुपैयाँ दिएर मजदूर पनि लगाइएको छ । श्रममा जानेहरू पाइप बोक्ने, लठ्ठा तान्ने, पाइप बाँध्ने, बाटो बनाउने, पाइप पुर्नेजस्ता काम गर्छन् । यो आयोजनाबाट फिदिम १, २ र ४ वडाका २ हजार ५ सय ५६ परिवारले पिउने पानी प्रयोग गर्दै आएका छन् ।

अहिले यो खानेपानी आयोजनामा पानी मुहान चारवटा थपिएको छ, जसले दैनिक १२ घण्टा धारामा पानी आउने गरेको छ । २०५७ मा फिदिम नगरपालिका–१, २ र ४ का बासिन्दालाई सहजरूपमा खानेपानीको व्यवस्था गर्न स्थापना भएको समितिले एसियाली विकास बैंकबाट १० करोड रुपैयाँ ऋण लिएर सुरु भएको हो ।

विगतको राजनीतिक दलको भागबण्डामा बनेको समितिले आयोजना निर्माण र पानी वितरणका लागि पाइपलाइन बिस्तार तथा ट्याङ्की बनाउन भन्दै लिएको उक्त ऋणमध्ये १७ वर्षमा ५५ लाख रुपैयाँमात्र तिरिएको छ भने उपभोक्ताबाट उठाएको रकम हिनामिना भएको छ । के-कति रकम हिनामिना भयो, त्यसको कुनै रेडर्क नै नभएको समितिका सदस्य तामाङले घटना र विचारलाई बताए । उनले भने, ‘अहिलेको हिसाबमा ५ करोड रुपैयाँबढी हिनामिना भएको देखिन्छ ।’ समितिका तीनवटा गाडी पनि गायव छन् । समितिले अनियमिततामा संलग्न भएको भन्दै ४ जना कर्मचारीलाई हटाएको छ ।