राष्ट्रियसभा सदस्यको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाइयो

राष्ट्रियसभा सदस्यको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाइयो


तीन दिनअघि सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइएको छ । निर्वाचन आयोगले आज निर्वाचन परिणाम बुझाएको हो । परिणाम बुझ्दै राष्ट्रपति पौडेलले निर्वाचन समयमा नै सफलताका साथ सम्पन्न गरेकोमा धन्यवाद दिए ।

राष्ट्रपतिले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत गर्ने काम निर्वाचन आयोगको भएकोले संविधान तथा संघीय कानूनबमोजिम सम्पन्न गर्नुपर्ने सबै तहका निर्वाचनका लागि आयोग सदा तयारी अवस्थामा रहन निर्देशन दिए । उनले निर्वाचनमा मतदाताले आफूले चाहेको र रोजेको उमेदवारलाई स्वतन्त्र र भयरहीत वातावरणमा आफ्नो गोप्य मताधिकारको प्रयोग गर्न पाउने मतदाताको सार्वभौम अधिकारको सुनिश्चितता कायम गर्नुपर्ने बताए ।

प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी २०८० फागुन २० गतेदेखि रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएकोमा ८ राजनीतिक दलका ५१ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइ ५ राजनीतिक दलका १९ जना उम्मेदवार निर्वाचित भएको बताए । उनले निर्वाचनमा सातै प्रदेशका कूल २ हजार ४६ मतदातामध्ये १ हजार ९ सय ९९मतदाता मतदान कार्यमा सहभागी भएको जानकारी दिए ।

उनले आयोगले सम्पन्न गर्ने निर्वाचनमा सार्वभौम नागरिकले आफूले चाहेको र रोजेको उम्मेदवारलाई स्वतन्त्रतापूर्वक र भयरहीत वातावरणमा आफ्नो गोप्य मताधिकारको प्रयोग गर्न पाउने मतदाताको सार्वभौम अधिकारको सुनिश्चितताका लागि आयोग सदा क्रियाशील रहेको र निर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न निर्वाचन आचारसंहिताको कार्यान्वयनमा विशेष जोड दिँदै आएको प्रष्ट पारे ।

photo: rss