एसिडपीडितको पीडा सबैको साझा पीडा : अध्यक्ष ओली

एसिडपीडितको पीडा सबैको साझा पीडा : अध्यक्ष ओली


नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसिडपीडितको पीडा सबैको साझा पीडा भएको बताएका छन् ।

आइतबार काठमाडौंमा एसिड आक्रमणबाट पीडित किशोरीको पीडा र जीवन कथालाई समेटेर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को शुभमुहूर्त कार्यक्रममा अध्यक्ष ओलीले नेपाललाई एसिड आक्रमणरहित देश बनाउनुपर्नेमा जोड दिए ।

एसिड आक्रमणकारीलाई कडा सजाय दिनुपर्ने धारणा राख्दै अध्यक्ष ओलीले जो कोहीले पनि सजिलै एसिड किन्न सक्ने रहेको र त्यसलाई रोक्नुपर्ने बताए ।

‘एसिडको उपलब्धता नै हुनुहुँदैन, कसले एसिड किनेको हो, के प्रयोजनका लागि किनेको हो, कति मात्रामा किनेको हो, किनेको मात्रा प्रयोग भयो कि भएन, बाँकी रह्यो भने त्यो फिर्ता गर्नेसम्मका प्रबन्ध व्यवस्थित र कडाइ गरेरमात्र बिक्री वितरण गर्नुपर्छ, एसिड आवश्यक परेकालाई उपलब्ध गराउने खालको परिपाटी विकास गर्नुपर्छ, जोसुकैले जहाँसुकै एसिड प्राप्त गर्न नसक्ने व्यवस्था गर्नुपर्छ’, उनले सुझाव पेस गरे ।

एसिडपीडितका बारेमा प्रधानमन्त्री प्रचण्डसँग भेटेर नै छलफल गर्ने बपनि ओलीले बताए ।

सो अवसरमा एसिडपीडित मुस्कान खातुनले चलचित्रबाट प्रेरणा मिलेको भन्दै यस्तो जघन्य अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने बताइन् । तेजाव आक्रमण घटनाका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको भन्दै उनले कठोर कानुन ल्याउन आवश्यक रहेको धारणा राखिन् ।

चलचित्रका निर्माता अभिनेता रमित ढुङ्गानाले एसिडपीडितका वास्तविक पीडालाई चलचित्रमा देखाइने जानकारी दिए । कार्यक्रममा सांसद ज्ञानबहादुर शाही र सुनिता बरालले संसदमा एसिडपीडितको पक्षमा कुरा उठाउने प्रतिबद्धता जनाए भने फिल्म अभिनेता धिरेन शाक्यले सत्य घटनामा आधारित चलचित्र बन्न लागेकामा खुसी व्यक्त गरे ।

photo: rss