प्रज्ञाप्रतिष्ठान किन प्राज्ञिक थलो बन्न सकेन ?

प्रज्ञाप्रतिष्ठान किन प्राज्ञिक थलो बन्न सकेन ?


प्रज्ञाप्रतिष्ठानमा भाषा, साहित्यका जानकारको उपस्थिति हुनुपर्नेमा शून्यहरूको बाहुल्य भयो । एक दुइवटा कविता लेख्दैमा कोही कवि हुने होइन, कवि हुँदैमा पनि प्राज्ञ हुने होइन । प्राज्ञ हुन कम्तीमा पनि विश्व साहित्य र धेरै भाषामा दखल भएको मानिस हुनुपर्थ्यो । तर प्राज्ञ शब्दलाई किराँती वा माओवादी पार्टीले हास्यास्पद बनायो ।
ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

एकेडेमी अर्थात् प्रज्ञाप्रतिष्ठान, जुन नाम नै प्राज्ञहरूको थलो भन्ने अर्थबोध बन्छ । तर नामअनुसार त्यहाँ प्रज्ञा अर्थात् बुद्धिजीवीको उपस्थिति छ त भन्ने प्रश्न खडा भइरहेको छ । प्रज्ञाप्रतिष्ठान कसरी भयो ? यसको कथा लामो छ ।

सिधा अर्थमा हेर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाले २०१२ सालमा काव्य प्रतिष्ठान खोलेका थिए । पछि तत्कालीन राजा महेन्द्रले महाकवि देवकोटालाई संयोजक बनाएर सो काव्यप्रतिठानलाई नै प्रज्ञाप्रतिष्ठानको मूर्तरूप दिइएको देखिन्छ । त्यो बेला पनि आधुनिक काव्यका गुरु कविशिरोमणि लेखनाथ पौड्यालको नाम दरबारले काटिदिएपछि महाकवि देवकोटाले संयोजक पदबाटै राजिनामा दिएका थिए । लेखनाथ नेपाली काव्यजगत्का शिखर पुरुष हुन्, लेखनाथविना काव्यको परिकल्पना नै गर्न सकिन्न । कतिपयले लेखनाथलाई अङ्ग्रेजी साहित्यका चाउसर (चसर पनि भनिन्छ) सित पनि तुलना गरेका छन् । तर चाउसर पदलालित्यका धनी भए तापनि लेखनाथजस्तो दार्शनिक कविचाहिँ होइनन् नै । तसर्थ पद लालित्य र दर्शनका हिसाबले लेखनाथ पौडेल विश्वकै उत्कृष्ट कवि हुन् भन्ने प्रमाणित हुन्छ ।

लेखनाथजस्ता कविको नाम काटिएर आएपछि महाकवि देवकोटाले राजिनामा दिएका हुन् । विद्वान् मानिसले विद्वत्ताको कदर गर्छ भन्ने महाकवि देवकोटाको यो कार्यले स्पष्ट पार्दछ । हलि-गोठाला मगजका मानिसले आफैं खान्छ, अरू जो जेसुकै होस्, त्यसको वास्ता गर्दैन, मैले यहाँ गोठाला खेतालाको मानमर्दन गरेको होइन त्यो संस्कृतिको मात्र चर्चा गरेको हो । जहाँ पार्टीका कार्यकर्ता भर्ना गरिन्छ, अर्थात् तिनीहरूलाई राजनीतिक भाषामा हलि-गोठाला भनिएको हो, जहाँसम्म प्रवृत्तिको कुरा छ, वास्तविक हलि-गोठालाहरू इमान्दार हुन्छन् तर यी राजनीतिक हलि गोठालाहरू हदैसम्मका बेइमान, कपट र झूठका पक्षपाती हुन्छन् । अहिलेको एकेडेमी त्यो स्तरभन्दा पनि गएगुज्रेको छ ।

एकेडेमीलाई स्वायत्त हुन कहिल्यै पनि दिइएन । वि.सं. २०१४ असार ९ गते यसको विधिवत् स्थापना भएपछि राजा स्वयं कुलपति बने । राजा कुलपति भएपछि राजावादी भाट चाटुकारको मात्र बाहुल्य भयो । भनौँ भने एकेडेमी निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने महाकवि देवकोटा नै पदविहीन सदस्य मात्र भए भने सम र बालचन्द्र शर्माजस्ता राजाका वरिपरि घुम्ने मान्छेहरू विशिष्ट पदाधिकारी बने । देवकोटा र लेखनाथजस्ता मूर्धन्य कविहरूले एकेडेमीबाट बढी सास्ती व्यहोरे ।

२०१५ को कात्तिकमा देवकोटा अफ्रो-एशियाई सम्मेलनमा भाग लिन ताशकन्द गएपछि उनलाई कम्युनिष्ट आरोप लगाएर राजा कुलपति भएको एकेडेमीले पाकेको पारिश्रमिक नै रोकिदियो । यतिसम्म भयो देवकोटा दिवङ्गत हुँदा दरबारसमर्थकले चोक-चोकमा बसेर कम्युनिष्टको मलामी नजान उर्दी नै गरे । देवकोटा एकेडेमीका सदस्य मात्र नभएर त्रिभुवन विश्वविद्यालय स्थापनाका मुख्य व्यक्ति पनि हुन्, देवकोटाको प्रज्ञालाई चुनौती दिने आजसम्म कोही छैन । त्यो बेला राजाको कुलपतित्वमा बनेको प्रतिष्ठानमा आजजस्तो ‘छ्या’ भन्न सुहाउने प्राज्ञ प्रज्ञाप्रतिष्ठानमा थिएनन् । हुन त आज त्यहाँ भाषा जानेका, साहित्यमा प्रभावशाली तथा संस्कृति र कलाको जानकार मानिस यस प्रतिष्ठानमा विरलै मात्र पर्ने गरेका छन् । साँच्चि भनौं भने २०४७ पछि डा. इश्वर बराल, डा. वासुदेव त्रिपाठी र मदनमणि दीक्षित मात्र प्राज्ञ प्रज्ञाप्रतिष्ठानको पदाधिकारी भएका छन् । यी तीन नामलाई झिकिदिने हो भने प्रज्ञाप्रतिष्ठान प्रज्ञाविहीन थियो भन्ने प्रशस्त आधार छ । तर बराल, दीक्षित र वासुदेव त्रिपाठीको पालामा राजा कुलपति हुने प्रणाली थियो र उहाँहरू उपकुलपति मात्र बन्नुभयो । २०६३ पछि एकेडेमी प्राज्ञिक थलो नभएर राजनीतिक कार्यकर्ता भर्ना गर्ने प्रमुख अखाडाको रूपमा परिणत भयो ।

अहिलेको प्रज्ञाप्रतिष्ठानमा शुद्ध लेख्न र बोल्न जान्ने असाध्य कम मान्छे भर्ती भएका छन् । अहिले त गाउँ-गाउँमा प्रज्ञाप्रतिष्ठान अभियान भन्ने सुन्नमा आएको छ । अहिलेका पदाधिकारीले प्रज्ञा भन्ने शब्दको अर्थ नै नजानेको प्रतीत हुन्छ । विश्वमा जहाँसुकै पनि गाउँ-गाउँमा प्रज्ञाप्रतिष्ठान हुँदैहुँदैन । रुस वा चीनले कहाँ गाउँलेहरूलाई प्राज्ञ बनाएका छन् ? गाउँमा बस्नेलाई अधिकार दिने कुरा एउटा हो, तर प्राज्ञ वा वैज्ञानिक भन्ने चीज बनाएर बन्ने होइन, यो त जन्मजात प्रतिभाको कुरा हो ।

यस मामलामा काङ्ग्रेस, एमाले र माओवादी पार्टी प्रमुख रूपमा दोषी छन् । काङ्ग्रेसको पालामा तै अलिकति शाख जोगिए पनि कम्युनिष्ट अर्थात् एमाले र माओवादीका पालामा प्रज्ञामा प्राज्ञको नियुक्ति हास्यास्पद बन्नपुग्यो । यतिसम्म कि खास प्राज्ञ जगत्प्रसाद उपाध्यायचाहिँ सचिवसम्म मात्र नियुक्त हुनुभयो, उहाँभन्दा कम योग्यताका गङ्गाप्रसाद उप्रेती कुलपति बन्नुभयो । यसबाट के बुझिन्छ भने कम्युनिष्ट शासनमा असलभन्दा मसलको बढी उपयोगिता हुने गर्छ । माओले एक ठाउँमा भनेका छन्, पार्टीमा धेरैभन्दा धेरै बुद्धिजीवीहरू भर्ना गर ! तर हाम्रो देशको कथित माओवादी (व्यवहारमा इण्डियन दलाल) पार्टीले यसको ठीक उल्टो गरेको छ । प्रचण्ड पहिलोचोटि प्रधानमन्त्री हुँदा गोपाल किराँती संस्कृतिमन्त्री भए, उनले डा. इश्वरचन्द्र ज्ञवालीलाई कुलपति बनाए, त्यो वेलामा प्राज्ञिक क्षेत्रमै हास्यको विषय बनेको थियो भने प्रचण्ड तेस्रोपल्ट प्रधानमन्त्री हुँदा कतै नामै नसुनिएका मान्छे सुदन किराँतीलाई संस्कृतिमन्त्री बनाए, उनले त गोपाल किराँतीले भन्दा पनि गएगुज्रेको प्राज्ञ गठन गरे । अहिलेको प्रज्ञाप्रतिष्ठानमा एक/दुईको नामबाहेक अरूको नाम लिँदा नाक खुम्च्याउनुपर्ने स्थिति भयो । भन्ने हो भने एमाले र माओवादीका पालामा आम प्राज्ञको मानमर्दन नै भयो । अर्थात् अहिलेको एकेडेमी भन्नेवित्तिकै माओवादीको बैठकस्थलजस्तो देखियो ।

वास्तवमा प्रज्ञाप्रतिष्ठानमा भाषा, साहित्यका जानकारको उपस्थिति हुनुपर्नेमा शून्यहरूको बाहुल्य भयो । एक दुइवटा कविता लेख्दैमा कोही कवि हुने होइन, कवि हुँदैमा पनि प्राज्ञ हुने होइन । प्राज्ञ हुन कम्तीमा पनि विश्व साहित्य र धेरै भाषामा दखल भएको मानिस हुनुपर्थ्यो । तर प्राज्ञ शब्दलाई किराँती वा माओवादी पार्टीले हास्यास्पद बनायो ।

अहिलेको प्रज्ञाप्रतिष्ठानमा शुद्ध लेख्न र बोल्न जान्ने असाध्य कम मान्छे भर्ती भएका छन् । अहिले त गाउँ-गाउँमा प्रज्ञाप्रतिष्ठान अभियान भन्ने सुन्नमा आएको छ । अहिलेका पदाधिकारीले प्रज्ञा भन्ने शब्दको अर्थ नै नजानेको प्रतीत हुन्छ । विश्वमा जहाँसुकै पनि गाउँ-गाउँमा प्रज्ञाप्रतिष्ठान हुँदैहुँदैन । रुस वा चीनले कहाँ गाउँलेहरूलाई प्राज्ञ बनाएका छन् ? गाउँमा बस्नेलाई अधिकार दिने कुरा एउटा हो, तर प्राज्ञ वा वैज्ञानिक भन्ने चीज बनाएर बन्ने होइन, यो त जन्मजात प्रतिभाको कुरा हो । गेहेन्द्र शमशेरदेखि महावीर पुनसम्म बनाएर बनेका वैज्ञानिक होइनन्, आ-आफ्ना प्रतिभाले बनेका हुन् । डा. सन्दुक रुइत, डा. रामप्रसाद पोखरेल, डा. भोला रिजाल, डा. भगवान् कोइराला आ-आफ्ना क्षमताले बनेका हुन्, यति मामुली कुरो पनि अहिलेका प्राज्ञ (?, पार्टी कार्यकर्ता) लाई थाहा नहुनु नै अयोग्यताको प्रमाण हो । यतिसम्म कि एकेडेमीले देवकोटा सङ्ग्रहालयमा गरेको एक कार्यक्रममा काव्य संयोजकले नेपाली वाक्य नै शुद्धसित उच्चारण गर्न नजानेको धेरैले प्रत्यक्ष सुन्नुपरेको थियो । देवकोटाका कविता कमसे कम वाचन गर्न जान्नेलाई वाचन गर्न लगाएको भए पनि त्यस्तो कुरूप उच्चारण त हुँदैनथ्यो होला । काव्य विभाग संयोजकको त यस्तो हालत छ भने त्यहाँ कस्ता मानिस भर्ती गरिए होलान् ? अनुमान गर्न कठिनाइ पर्दैन ।

वास्तवमा मैले २०४७ देखि नै स्वायत्त एकेडेमी हुनुपर्ने माग गर्दै आएको हुँ । २०४७ असार ९ गते त म स्वतन्त्र एकेडेमीको माग गर्दै रत्नपार्कमा भोक हड्ताल बसेको थिएँ । त्यस वेलाको मेरो मागमा देवकोटा एकेडेमी र देवकोटा विश्वविद्यालय हुनुपर्नेमा जोड थियो । यी दुइटा संस्थाको स्थापनामा महाकवि देवकोटाले भगीरथ प्रयत्न गरेका थिए र देवकोटा नभएका भए यी दुई संस्थाको स्थापना हुने नै सम्भावना कम थियो । यसर्थ पनि मैले उक्त माग अघि सारेको हुँ । त्यो वेला अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई किशुनजी हुनुहुन्थ्यो । त्यहाँ पनि मैले ११ सूत्रीय माग पेस गरेको थिएँ, तर वरिपरि बसेकाले सो मागपत्र किशुनजीसमक्ष नबुझाएको पछिमात्र थाहा भयो । किशुनजीकहाँ पेस गरिएको भए उहाँले बोलाउनुहुन्थ्यो, उहाँको स्वभाव त्यस्तो थियो । उहाँकहाँ पुगेका निवेदन प्र.मं. कार्यालयमा थन्किएर बस्ने सम्भावना हुँदैनथ्यो । म पनि १/२ वटा डेलिगेशनमा जाँदा अनुभव गरेको छु, फेरि मेरो नाम किशुनजीका लागि अपरिचित पनि थिएन ।

म पुनर्जागरणमा हुँदा अर्थात् २०४५ देखि नै किशुनजीकहाँ बरोबर आउजाउ गर्थें, उहाँजस्तो सरल र इमान्दार प्रधानमन्त्री आजसम्म नेपालमा कोही भएजस्तो मलाई लाग्दैन । मैले प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखेको पत्र उहाँका हातमा परेको भए यो विषय उहिल्यै टुङ्गिसक्थ्यो । किशुनजीकै पालामा देवकोटालाई राज्यले महाकविको उपाधि दिने थियो र राष्ट्रिय विभूतिको मान्यता प्राप्ति हुने थियो । पछि रामवरण यादव राष्ट्रपति हुँदासम्म यो अभियान जारी गरेँ तर उनीहरूले सुन्दैसुनेनन् । यस्तो विषय त एकेडेमी स्वयंले गर्नुपर्थ्यो । तर प्रज्ञामा प्राज्ञिक व्यक्तिको अभावले गर्दा महाकवि देवकोटाको विषय ओझेलमा परिरहेको छ । त्यहाँबाट भाषा साहित्यको गरिमा उठ्छ भन्ने आशा गर्ने ठाउँ नै रहेन ।

अहिलेको एकेडेमीले यति चरम पक्षपात गरेको छ कि म माओवादी नभएकैले मलाई साहित्यकार परिचयपत्र दिएन । नेपाली साहित्यमा लागेका नयाँ हुन् वा पुराना जोसुकैलाई पनि मेरो नाम थाहा नभएको छैन होला । एकेडेमी स्वयंले साहित्यकारको खोजी गर्नुपर्ने हो, तर हामी आफैंले फाराम भर्दा पनि पक्षपात गरियो । त्यसमा पनि महाकवि देवकोटाका अध्येता श्यामदास वैष्णवबाहेक अरूलाई यति पक्षपात गरियो कि डा. कुमारबहादुर जोशीजसता धुरन्धरसमेत प्रज्ञाबाट अपहेलित भए । महाकविकै अध्येताको हैसियतले ममाथि यति ठूलो पक्षपात गरिएको हो भन्ने मलाई लाग्छ । नत्र त मजस्तो स्वतन्त्र लेखकलाई किन परिचयपत्र दिइएन ?!

वास्तवमा जबसम्म एकेडेमीलाई राजनीतिक पञ्जाबाट मुक्त गरिँदैन तबसम्म नेपाली भाषा, साहित्यले फैलने र झाँगिने अवसर पाउँदैन । यसकारण पनि सच्चा साहित्यकारले यस कुरालाई मनन गर्नैपर्छ । कुनै बेला एकेडेमीले नेपाली हिज्जे बिगारेर शब्दकोश बनाएको थियो । किनकि कम्युनिष्टहरूलाई भाषा साहित्यको माया र बौद्धिक साहित्यकारको मतलब हुँदोरहेनछ भन्ने वर्तमान प्रज्ञाप्रतिष्ठानको कार्यले स्पष्ट पारेको छ । प्रचण्ड सरकार यति गैरजिम्मेवार हुन्छ भन्ने कसैले अनुमान पनि गरेका थिएनन् ।

  • महाकवि देवकोटा आश्रम, हाल : बेघर