- सुरेन्द्र सुवेदी, काठमाडौं
नेपाली सेनाकोको कल्याणकारी कोषमा निरन्तर रकम वृद्धि भइरहेको छ । कोषमा ७५ अर्ब ९० करोड ५७ लाख ४९ रुपैयाँ मौज्दात छ भने अरु रकम लगानीमा रहेको छ । सैनिक मुख्यालयका अनुसार यो कोषबाट बहालवालादेखि अवकासप्राप्त सैनिक र उनीहरूका आश्रित परिवारलाई विभिन्न शीर्षकमा निरन्तर सहयोग भइरहेको छ । सैनिक प्रवक्ता सहारयक रथी कृष्णप्रसाद पौडेलका अनुसार कोषबाट सैनिक र तिनका परिवारका लागि शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवम् सुविधा/सहुलियत उपलब्ध गराएर जीवन निर्वाहमा सहयोग पुऱ्याउने उद्देश्यले कोष स्थापना भएको हो ।
सैनिकसँगै नेपाली नागरिकलाई पनि सेवा र सुविधा दिँदै आएको कोषमा गत पुस मसान्तसम्ममा ७५ अर्ब ९० करोड ५७ लाख ४९ हजार रुपैयाँ नगद मौज्दात रहेको र सेनाले सेवामूलक तथा आयमूलकसमेतका कार्यहरूमा ६ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ लगानीसमेत गरेको छ । कोषको कूल सम्पत्ति ८२ अर्ब ६६ करोड १२ लाख रुपैयाँ पुगेको छ । सैनिक कल्याणकारी निर्देशनालयमातहत सञ्चालित शिक्षण संस्थाहरू, स्वास्थ्य उपचार सुविधा एवम् अन्य गतिविधिबाट ३ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यस्तै, वार्षिक १ अर्ब २५ करोड रुपैयाँ भन्दा बढी रकम सेनाले यही कोषबाट सरकारको ढुकुटीमा राजश्व जम्मा गर्दै आएको प्रवक्ता भण्डारीले घटना र विचारलाई बताए ।
प्रधानसेनापति महारथी प्रभुराम शर्मा बहुजन हिताय, बहुजन सुखाय मूलमन्त्रसहित हिताधिकारीहरूको जीवनयापनमा सहयोग पुऱ्याउन कल्याणकारी कोषमातहत सञ्चालित गतिविधिहरू पारदर्शी एवम् नियमसंगत रहेको बताउँछन् । उनी हिताधिकारीहरूको कल्याणमा प्रभावकारी ढङ्गले सेवा-सुविधाको विस्तार गर्न कोष प्रयत्नशील रहेको र यो क्रम निरन्तर चल्ने जानकारी दिन्छन् ।
सैनिक मुख्यालयले शान्तिसेनामा गएका र देशभित्रै कार्यरत सैनिक जवानदेखि उच्चतहका अधिकृतहरूको सेवा/सुविधाबाट केही अंश रकम कट्टा गर्दै कोषमा रकम जम्मा गर्दै आएको छ । २०३२ सालमा १ करोड २४ लाख १ हजार रुपैयाँबाट कोष स्थापना भएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले कल्याणकारी कोष स्थापना गरेर आयमूलक र सेवामूलक कार्यमा बचत रकम लगानी गर्दै आउनुलाई सकारात्मकरूपमै लिइएको छ ।
प्रतिक्रिया