नेकपाविरुद्ध खनिए राप्रपासम्बद्ध भातृ संगठन

नेकपाविरुद्ध खनिए राप्रपासम्बद्ध भातृ संगठन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भातृसंगठनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आफ्नो विज्ञप्ति सच्याउन र पार्टी प्रवक्ता ज्ञानबहादुर शाहीमाथिको लान्छना फिर्ता लिन भनेका छन् । राप्रपासम्बद्ध भातृ संगठनले विज्ञप्ति नसच्याए र प्रवक्ता शाहीमाथि लगाएको आरोप फिर्ता नलिए खरो रुपमा उत्रिने चेतावनी दिएका हुन् ।

राप्रपा प्रवक्ता शाहीले पार्टीको एक कार्यक्रममा सरकारको आलोचना गर्दै ‘पक्राउ पुर्जी जारी भएकाहरू प्रधानमन्त्रीसँग मिडिङ गर्दै हिँडेका छन्’ भनेका थिए । शाहीको सोही अभिव्यक्तिको खण्डण गर्दै विप्लव नेतृत्वको नेकपाले अभिव्यक्ति सच्याउन र अभिव्यक्ति नसभ्याए गम्भीर परिणाम भोग्न तयार हुन भन्दै विज्ञप्ति जारी गरेको थियो । राप्रपासम्बद्ध भातृ संगठनले विप्लव नेतृत्वको नेकपाको सो विज्ञप्तिमा आपत्ति जनाउँदै सच्याउन र लान्छना फिर्ता लिन भनेका हुन् ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष कमलराजा बम रजवारले विज्ञप्तिको भत्र्सना गर्दै उक्त लान्छना फिर्ता लिनुपर्ने बताए । राप्रपानिकट युवा संगठनका केन्द्रीय सचिव निराजन बमले पार्टी प्रवक्ता शाहीसँग नेत्र विक्रम चन्दमात्र नभएर सिंगो गणतन्त्र डराइरहेको टिप्पणी गरे । राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाका अध्यक्ष कैलाश कटुवालले प्रवक्ता शाहीले पक्राउ पुर्जी जारी भएको मान्छेले प्रधानमन्त्रीसँग मिटिङ गरिरहँदा पनि नदेख्ने अन्धो सरकारको आँखा खोलिदिएको बताए ।