सफल विद्रोही राम्रो शासक नहुन सक्छन्

सफल विद्रोही राम्रो शासक नहुन सक्छन्


जेल बसेको, प्रतिपक्षमा भएको बेला जुलुसमा लाठी, गोली खाएको, पर्चा बोकेको वा पोष्टर टाँसेको योग्यता मुलुक चलाउने योग्यता हैन । सशस्त्र विद्रोहको नाममा विरोधिको सफाया गरिएको, जुलुसमा ढुङ्गा हानेको, गुलेली चलाएको, मुखमा अगुल्टो झोसेको जस्ता कुराहरू पनि मुलुक चलाउने योग्यता हैन ।
✍ स्वयम्भुनाथ कार्की

क्रान्तिकारी, विद्रोही हुने योग्यताले मुलुक चलाउन पनि योग्य हुन्छ भन्ने कुरा हुँदैन । विरोध गर्न, विद्रोह गर्न चाहिने योग्यता र मुलुक चलाउन, सुव्यवस्था कायम गर्न चाहिने योग्यता दुई विपरीत प्रकारका हुन् । भावावेशमा आएर विद्रोहको नायकलाई निर्माणको नायक मान्न पुगिन्छ र यो ठिक होइन रहेछ भन्ने कुरा जान्दाजान्दै मुलुकले दुर्दशा भोगिसकेको हुन्छ ।

यस्ता कुराको मार नेपालले लामो समयदेखि भोग्दैछ, धेरैपटक भोगिपनि सकेको छ । हिजो समर्पित भएर सघाउनेहरूको मनमा निराशा र कुन्ठाले घर बनाइसकेको छ । धेरैले यो कुन्ठा व्यक्त गर्न सक्दैनन् । अव्यवस्थाको दोषको भागिदार आफू पनि भइएला भन्ने डर पनि हुनसक्छ वा अब उनीहरूमा नैतिक बल समाप्त भएको पनि हुन सक्छ । यसले परिवर्तनपछिको नेतृत्व अपवादबाहेक हमेसा असफल हुने गरेको हुन्छ । अनि स्वभाविक प्रश्न उब्जन्छ- आखिर मुलुक चलाउने योग्यताको मापदण्ड के ? जुलुसमा लाठी खाएको कि सुरक्षाकर्मीको मुखमा आगो झोसेको ? के जेल यात्राले मुलुक चलाउने योग्यता थप्छ वा आङ्खनो कुरासँग विमति राख्नेको ‘सफाया’ योग्यताको कसी हो ?

बिस्तारै यस्ता विरोध, विद्रोह वा क्रान्ति आदिको नेतृत्वले बुझ्न थाल्छ मुलुक चलाउन त आफू ले विरोध गरेका तरिका र पद्धति नै चाहिने रहेछ । तर उसको यो बुझाइबाट आफू मा परिर्वन गर्न सक्ने बाटो छोडेको हुँदैन, किनभने आफू हिँडेको बाटोबाट हिँड्ने अर्को जत्था तैयार भइसकेको हुन्छ । उसले अनायासै आफूलाई हिजो आफूले खोइरो खनेकाको स्थानमा पाउँछ र हिजोको आफ्नो स्थानमा अरु नै हुन्छन् जो आफ्नो खोइरो खन्दै हुन्छन् । हिजो आफू ले गरेको जस्तो विद्रोह, विरोधको तारो आफै बन्न परेको अवस्थामा बहुदा उसको ध्यान कुशलता हासिल गरेर परिणामले उत्तर दिनेमा भन्दा प्रतिवाद गर्ने वा प्रश्नलाई अर्कोतर्फ मोड्ने प्रयत्नमा जान्छ । यसले उसमा थप अयोग्यता बढ्न थाल्छ । सत्ता वरिपरिका चाटुकारहरूले हिजोका सहयोगी सहयात्रीहरूलाई विस्थापित गरिसकेको हुन्छ । यो कुरा स्विकार गर्ने हिम्मत भने हुँदैन ।

त्यसैले सुधारको सम्भावनातर्फ ध्यान जाँदैन बरु ढाकछोपको निमित्त अनेकौ सतही बहाना बनाउन थालिन्छ । यस्ता हरेक बहानाले अर्को विवाद हुन्छ फेरि त्यसलाई छोप्न अर्को बहाना बनाउनुपर्छ । यो बहानाको श्रृङ्खला निरन्तर हुन्छ । फलस्वरुप उपहासका पात्र बनिन्छ र मुलुकले थप कष्ट पाउँछ । किन नेपालमा आन्दोलन हाँक्न र त्यसलाई सफल बनाउन भने नेताहरू सफल हुन्छन् तर त्यसको व्यवस्थापन गर्न भने असफल भन्ने यो चेतनशील वर्गको प्रश्नको उत्तर नै यही हो । उनीहरूमा विरोध गर्ने मात्र योग्यता छ मुलुक चलाउने योग्यता छैन । राजसंस्था पाखा लगाउने विरोध, विद्रोह गर्ने माओवादीका तात्कालिन नेतृत्वहरूको स्खलन यसै कुराको प्रमाण हो । बाबुराम भट्टराईदेखि प्रचण्ड नामले चिनिने पुष्पकमल दहालसम्मले गणतन्त्रको कार्यकारी राष्ट्रप्रमुखको जिम्मेवारी पाएकै हुन् । यसपटक नेकाले प्रदान गरेको छ्वालीको खुट्टा भएको कुर्सी समेत पुष्पकमल दहाल त तेश्रो पटक नेपाल हाँक्ने स्थानमा छन् ।

दक्षिण भारतिय चलचित्र ‘पुष्पा’को हिन्दी अनुवादमा भएको संवाद ‘पुष्पा भन्नाले फूल सम्झेको आगो हुँ’ (हिन्दीबाट नेपाली आनुवादको प्रयत्न) जस्तै संवाद प्रधानमन्त्रीको मुखबाट सुनिन थालेको छ । प्रधानमन्त्री पदबाट उनले १७ हजार जोड २ भन्ने कुराको जवाफ दिन कार्यकर्तालाई आव्हान गरेका छन् । भन्छन्, यसो भन्नेहरू खुल्ला घुमिरहेका छन् पहिले भए के गरिन्थ्यो । यो सिधा विद्रोहकालमा आफ्नो कुरा नमान्नेलाई गरिएको ‘सफाया’को पुनरावृत्तिको आव्हान हो । के सार्वभौमसत्तासम्पन्न जनता भएको भनिएको मुलुकको कार्यकारी सरकार प्रमुखले यसरी हिंसा निमित्त उक्साउनु ठिक हो ? यो प्रश्न नै निरर्थक लाग्छ जब विद्रोह, अझ त्यो पनि रक्तपातपुर्ण मार्गबाट आएको नेतृत्व शान्तिमा रुपान्तरण हुन नसकेको मानिन्छ । पाखा लगाईएका राजाबाट डेढ दशकभन्दा धेरैपछि पनि गणतन्त्रका हर्ताकर्ताले खतरा देख्छन् भने त्यो उनिहरूको अयोग्यताको घोषणा हो ।

यो समयखण्डको आरम्भको बेलाको नेपाली समाज छैन, त्यसैले धङ्धङीमा राजालाई तर्साउन खोजेर नायक बन्न सकिने अवस्था अब छैन । चाहे त्यो चुनाव लड्न दिएको चुनौती होस् वा दरबार हत्याकाण्डको छानविनको बुख्याँचा । विगतमा धेरैपटक यस्तो छानविन गरे हुन्छ भनेर उनले बारम्बार भनेकै कुरा हुन् । त्यसैले जेल बसेको, प्रतिपक्षमा भएको बेला जुलुसमा लाठी, गोली खाएको, पर्चा बोकेको वा पोष्टर टाँसेको योग्यता मुलुक चलाउने योग्यता हैन । सशस्त्र विद्रोहको नाममा विरोधिको सफाया गरिएको, जुलुसमा ढुङ्गा हानेको, गुलेली चलाएको, मुखमा अगुल्टो झोसेको जस्ता कुराहरू पनि मुलुक चलाउने योग्यता हैन ।

उसै पनि धेरैजसो परिवर्तनका नायकहरूमाथिका अनेकौँ आरोपहरूको छानवीन हुन नै बाँकी छ । त्यो छानविन आरम्भ गरिनुपर्ने आवाज मत्थर भएकै छैन । त्यसमाथि सरकार प्रमुखको कुरा नै हिंसा भडकाउन उक्साएको अर्थ लाग्ने किसिमको आउँछ भने त्यो अयोग्यता मात्र हैन छानविनको घेरामा आउनुपर्ने हो । त्यसैले नेपालमा सफल विद्रोही असल शासक बन्न हालसम्म सकेको छैन ।