‘ज्ञान पापी’ हुनबाट बचौँ

‘ज्ञान पापी’ हुनबाट बचौँ


सत्य के हो भनेर आफूलाई थाहा हुँदाहुँदै अरुको दिमागमा अरु नै कुराको भ्रम छर्नु ‘ज्ञान पाप’ हो । हाम्रो समाजमा विभिन्न विषयमा भ्रम फैलाएर ज्ञान छर्नेहरूको संख्या बढ्दै गएको छ । मान्छे मार्नु मात्र पाप होइन, मान्छेलाई दिग्भ्रमित बनाएर आफूले फाइदा लिनु पनि पाप हो ।
✍ बबिता बस्नेत

ज्ञानको अर्थ सत्यतथ्यको बारेमा जागरुक हुन, सत्यसँग निकट रहेर जानकारी राख्नु हो । कसैले कुनै कुरामा विशेष दक्षता राख्छ या राखेको छ भने हामी उसलाई विषयगत ज्ञान भएको मानिसका रूपमा लिन्छौँ । सार्थक जीवनका लागि योग्य बन्नु ज्ञानप्राप्ति हो । सार्थक जीवन के हो ? मानिसको सोच र जीवन, जगतलाई हेर्ने उसको दृष्टिकोणमा भर पर्छ । कतिलाई खान, लाउन, ठुलो घर बनाउन, राम्रो गाडी चढ्न या पद प्राप्तिमा जीवन सार्थक लाग्न सक्छ । कतिलाई यस्ता कुराहरू गौण लाग्न सक्छ । अनुभव र ज्ञान फरक कुरा हुन्, अनुभव आफैले हासिल गर्नुपर्छ, कुनैपनि कुराको अनुभवका लागि आफू संलग्न हुनैपर्छ, ज्ञान पुस्तक पढेर पनि प्राप्त गर्न सकिन्छ । ज्ञान मुलतः तथ्यात्मक, बस्तुगत र अनुभवजन्य हुन्छ । ज्ञानको सुरुवात र अन्त्य छैन । सबैभन्दा ठुलो ज्ञान ब्रम्हज्ञान हो । मानिस आफैभित्र ब्रम्हाण्ड छ, त्यो ब्रम्हाण्डभित्र जे-जति र जस्ता कुराहरू छन् तिनको पहिचान गरी जानकारी राख्न सक्ने र अरुलाई बताउन सक्ने अवस्थामा पुग्नु ब्रम्हज्ञान हो । ब्रम्हज्ञानीलाई सुख र दुःखले फरक पार्दैन ।

२०८० साल माघ ११ गते डा. राजेश अहिराजसँग ‘समयभित्रको समय’का लागि सम्वाद गरिरहँदा उहाँले त्यति चलनचल्तीमा नआएको एउटा शब्द प्रयोग गर्नुभयो, ‘ज्ञान पापी’ । प्रसङ्ग मोडिएकाले यो विषयमा कार्यक्रममा चर्चा गर्न छुट्यो । तर यो शब्दले मनमा स्थान लिइरह्यो । हामीकहाँ ज्ञान बाँड्ने मान्छेहरूको सङ्ख्या ठुलो छ । हिजोआज मिडिया, सामाजिक संजाल जताततै ज्ञान छरिरहेका मानिसहरू देखिन्छन् । तर सत्यनिष्ठ ज्ञान बाँड्ने मानिसहरूको संख्या कति छ ? सहीलाई सही र गलतलाई गलत भन्ने मान्छेहरू कति छन् ? आफूसँग भएको ज्ञानलाई थाहा नपाएजस्तो गरी सत्यलाई तोडमोड गर्नु ‘ज्ञान पाप’ हो । झुट हो भन्ने थाहा हुँदाहुँदै सत्यझैँ गरी प्रस्तुत गर्नु ज्ञान पाप हो र, त्यसरी प्रस्तुत गर्नेहरू ज्ञान पापी ! सत्य के हो भनेर आफूलाई थाहा हुँदाहुँदै अरुको दिमागमा अरु नै कुराको भ्रम छर्नु ‘ज्ञान पाप’ हो । हाम्रो समाजमा विभिन्न विषयमा भ्रम फैलाएर ज्ञान छर्नेहरूको संख्या बढ्दै गएको छ । मान्छे मार्नु मात्र पाप होइन, मान्छेलाई दिग्भ्रमित बनाएर आफूले फाइदा लिनु पनि पाप हो ।

कुनै बेला थियो, श्रृष्टिमा पाप र धर्मको कुरा हुन्थ्यो, विभिन्न कोणबाट ब्याख्या गरिन्थ्यो । पापको अर्थ अन्याय र धर्मको अर्थ न्याय थियो । अहिले पनि अर्थ त उही हो तर समयले हामीलाई न्याय पनि किनबेच हुनसक्ने अवस्थामा पुऱ्याइदिएको छ । हिन्दुधर्ममा मुलतः सात वटा कर्मलाई पाप मानिएको छ- हत्या, चोरी, अवैद्य मैथुन, चाप्लुसी, झुठो तथा अशिष्ठ ब्यवहार, विभेद र नास्तिकता । यी सातमध्ये नास्तिक हुनु पाप होइन भन्नेहरूको संख्या ठुलो छ । आष्तिक हुनुलाईु सुरक्षाको अनुभूतिका रूपमा मान्नेहरू पनि छन् । के त्यसो भए नास्तिक हुनु असुरक्षित महसूस गर्नु हो ? भन्ने बहसहरू पनि हुने गर्छन् । मानिस सुरक्षित भएपछि नाष्तिक बन्छ भन्नेहरू पनि छन । मनुस्मृतिमा धर्मको बारेमा ‘धृति क्षमा दमोस्तेयं, शौचं इन्द्रियनिग्रहः धीर्विद्या सत्यं अक्रोधो, दशकं धर्म लक्षणम् ।। भनिएको छ । यसको अर्थ हुन्छ, धर्मका दश लक्षण छन्- धैर्य, क्षमा , संयम, चोरी नगर्नु, स्वच्छता, इन्द्रियहरूलाई वशमा राख्नु, बुद्धि, विद्या, सत्य र क्रोध नगर्नु । यसरी हेर्दा धर्म शास्त्रहरूले ब्याख्या गरेका पाप र धर्म न्याय, अन्यायसँग जोडिएका छन्, सही र गलतसँग जोडिएका छन् ।

गीता होस् या महाभारत या रामायण सबैतिर गलतको साथ दिनु पापको भागीदार हुनु हो भनिएको छ । हाम्रो देशमा त्यस्ता अनेक उदाहरणहरू छन् जसमा बौद्धिक वर्गले सहीलाई सही र गलतलाई गलत भनेका छैनन्, सहीलाई साथ दिएका छैनन् । यदि ज्ञान पापीहरूको झुण्ड नहुँदो हो त हाम्रो संक्रमणकालीन न्यायको अवस्था अहिलेसम्म संक्रमणमै रहने थिएन । प्रत्येक दिन हजारौँको संख्यामा मानिसहरूले देश छोड्नुपर्ने अवस्था पनि आउने थिएन । स्थानीय तहदेखि नै रोजगारीका आधारहरू सिर्जना हुने थिए । विभिन्न शीर्षकमा छुट्याएको मुलुकको राष्ट्रिय बजेट कहाँ, कसरी खर्च भइरहेको छ ? लेखाजोखा गरौँ । ज्ञान पापीहरू हिजो पनि थिए, आज पनि छन्, जसले सर्वसाधारणलाई दिग्भ्रमित बनाइरहेका छन् । राजनीतिक दल हुन् या कर्मचारीतन्त्र, मिडिया, कानून, चिकित्सा, अध्यापनदेखि ठेक्कापट्टासम्म यसप्रकारको प्रवृत्ति हावी छ । ब्यक्तिगत जीवनमा पनि यो मान्छे सही छ भन्ने थाहा छ तर गलत र खराब प्रमाणित गर्न मानिसहरू लागिपर्ने गर्छन् । यो मान्छेले कसैलाई ‘हार्म’ गर्दैन भन्ने थाहा छ तर यसलाई कसरी माथि उठ्नै नसक्ने बनाउँ भनेर लागिपर्नेहरू यत्रतत्र छन् । नजानी या थाहा नपाइ कुनै कुरा गर्नु र थाहा पाइ-पाइ गर्नुबीच अकाश-जमिनको अन्तर छ । नजानी गर्नेहरू अज्ञानी हुन्, राम्रो छ भन्ने थाहा पाइ–पाइ या जानी–जानी नराम्रो गर्नेहरू ज्ञान पापी हुन् ।

सामाजिक संजालमा छरिएका ज्ञानको भरमा परेर ठुल्ठूला निर्णयहरू हुन थालेका छन् । ती ज्ञान केका लागि छरिँदैछन् ? उत्पादन कसले गर्दैछ ? ती प्रायोजित हुन कि स्वस्फुर्त ? हिजो ‘ज्ञान पापी’हरूकै कारण मुलुकलाई भार पर्ने र आवश्यक नभएका कतिपय निर्णयहरू भए । भोलि मुलुकमा ठुलै घटना या दुर्घटना गराउनका लागि ज्ञान पापीहरू सक्रिय भइरहेका त छैनन् ? ‘ज्ञान पापी’ बोल्ने मात्रै होइन नबोल्ने पनि हुन्छन् । कसैलाई यो गलत भइरहेको छ भन्ने थाहा छ तर उ समयमा बोल्दैन भने त्यस्ता ब्यक्तिहरू पनि ‘ज्ञान पापी’ हुन् । महाभारतमा द्रौपदीको चीरहरण भइरहँदा भीष्म पितामह, गुरु द्रोणाचार्य, कृपाचार्य जस्ता विद्वान्हरू बोलेनन् । आफ्नै आँखाअगाडि गलत भइरहेको छ भन्ने उनीहरूलाई थाहा थियो तर गलतलाई गलत भनेनन्, शिर झुकाएर बसिरहे, बोलेनन् । यस अर्थमा उनीहरू पनि ज्ञान पापी भए र, त्यसको परिणाम भोगे पनि । अश्वस्थामाले पाण्डवका स-साना बच्चाहरू (द्रौपदीका सन्तानसहित) लाई सुतिरहेका बेला हत्या गरे । चाहेको भए श्रीकृष्णले त्यतिबेलै उनको हत्या गर्न सक्थे तर तत्काल मारेर अश्वस्थामालाई मुक्ति दिने पक्षमा कृष्ण थिएनन् । परिणामतः अश्वस्थामाले अपराधबोधका साथ भड्किएर सधै बाँच्ने श्राप पाए । अपराधबोधका साथ बाँच्नुपर्ने जीवन मृत्युभन्दा कैयौं गुणा भारी हुन्छ । हामीलाई पनि भोलि अपराधबोधका साथ भड्किएको आत्मा लिएर बाँच्ने दिन नआओस्, ‘ज्ञान पापी’ हुनबाट बचौँ ।