राष्ट्रियसभाको निर्वाचन नहुँदै अध्यक्षको रूपमा चर्चामा आएका कृष्णप्रसाद सिटौलालाई रोक्न प्रयास भएको छ । सिटौलालाई अध्यक्ष बनाउन काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच निर्वाचनअगावै सहमति बनेको थियो । संवैधानिक परिषद्मा सत्तापक्ष कमजोर भएकोले त्यहाँ पुगेर प्रभावकारी भूमिका निर्वाह गर्नसक्ने ब्यक्तिको खोजी गर्ने क्रममा प्रचण्ड र देउवाको रोजाइमा सिटौला परेका थिए । यही बुझेर बिपक्षी गठबन्धनले सिटौलालाई परास्त गर्न हरसम्भव कोसिस पनि गरेको थियो । काङ्ग्रेसको देउवाविरोधी पक्षलाई साथ लिएर सिटौलालाई पराजित गर्ने प्रयत्न पनि भएको हो, तर विपक्षीहरूको सम्पूर्ण प्रयासलाई असफल तुल्याउँदै सिटौला विजयी बने । उनको विजयसँगै माओवादी पार्टीभित्र राष्ट्रियसभा अध्यक्ष काङ्ग्रेसलाई नदिएर माओवादी आफैले राख्नुपर्ने भन्दै प्रचण्डमाथि दबाब परेको छ ।
‘अहिले त तपाईं प्रधानमन्त्रीको हैसियतमा संवैधानिक परिषद्मा हुनुहुन्छ, भोलि तपाईं प्रधानमन्त्री नभएको बेला परिषद्मा हाम्रो प्रतिनिधित्व कसरी हुनेछ ?’ भन्ने प्रश्न गर्दै माओवादी नेताहरूले अध्यक्ष नछोड्न प्रचण्डलाई भनेका छन् । राष्ट्रियसभाको ठूलो दल माओवादी भएकोले पनि अध्यक्ष माओवादीले पाउनुपर्ने तर्क उनीहरूको छ । ज्ञातब्य छ, संवैधानिक परिषद्मा प्रधानमन्त्री, विपक्षी दलका नेता, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, सभामुख र उपसभामुख रहने ब्यवस्था छ । विपक्षी नेता, राष्ट्रियसभा अध्यक्ष, सभामुख र उपसभामुख एमालेतर्फको भएकोले सत्तापक्ष निकै अप्ठ्यारोमा परिरहेको छ, उसले आफूअनुकूल कुनै पनि निर्णय लिन सकिरहेको छैन । त्यसैले राष्ट्रियसभा अध्यक्षमा बलियो मानिसलाई चयन गर्नुपर्ने बाध्यता सत्तापक्षलाई छ ।
राष्ट्रियसभा अध्यक्ष सत्तापक्षले पाएपछि पनि तीन जना (विपक्षी नेता, सभामुख र उपसभामुख) एकातिर हुने स्थिति छ । तथापि, उपसभामुखलाई मिलाउन सक्दा सत्तापक्ष केही अनुकूल अवस्थामा पुग्नेछ । तर माओवादी नेताहरूको चिन्ता प्रधानमन्त्री अन्यपक्षको चयन भएको स्थितिमा संवैधानिक परिषद्मा माओवादी शुन्य हुने कुरालाई लिएर उत्पन्न भएको छ । यद्यपि प्रचण्ड सिटौलालाई आफ्नो प्रतिकूल ब्यक्ति ठान्दैनन् । सिटौलाबाट आफूलाई कहिल्यै धोका नहुने विश्वास प्रचण्डमा रहेको छ र, उनले पार्टीका कतिपय नेताहरूसँग सिटौला ‘आफ्नै मानिस’ भएकोले विश्वास गर्न भनिरहेका छन् ।
माओवादी नेताहरूले उर्मिला अर्याललाई अध्यक्ष बनाउनुपर्छ भनेर प्रचण्डलाई सुझाएका छन् । तर यसमा काङ्ग्रेस सहमत हुने सम्भावना देखिँदैन । माओवादीहरू बामपन्थी एकता भन्दै कुनैपनि बेला एमालेतिर लहस्सिन सक्ने सम्भावना हुने भएकोले यसमा काङ्ग्रेसले सम्झौता गर्ने स्थिति देखिएको छैन । बरु सत्ता गठबन्धन बदल्न काङ्ग्रेस तयार होला, तर सिटौलाको विकल्प खोज्ने सोच काङ्ग्रेस नेतृत्वले बनाएको छैन ।
प्रतिक्रिया