पूर्व श्री ५ र दलहरूबीच तनाव बढ्दै, वार कि पार हुने सङ्केत !

पूर्व श्री ५ र दलहरूबीच तनाव बढ्दै, वार कि पार हुने सङ्केत !


सत्र वर्षअघि राजा र संसद्वादी भनिने दलहरूबीच द्वन्द्व बढ्दा मुलुकमा गणतन्त्र घोषणा हुने परिस्थिति निर्माण भएको थियो । अहिले तिनै शक्तिहरूबीच उत्पन्न भएको तनावले कस्तो परिणाम हाशील गराउने हो- चिन्ता र जिज्ञासाको विषय बनेको छ ।

गणतन्त्र घोषणाको डेढ दशकपछि तत्कालीन राजा र राजनीतिक दलहरूबीच चर्को द्वन्द्व सुरु हुने सङ्केतहरू देखापरेका छन् । मुलुकमा दल तथा तिनको नेतृत्वप्रति चरम असन्तुष्टि बढ्दै जाँदा पूर्व श्री ५ बाट विभिन्न गतिविधि सञ्चालन हुनुका साथै आक्रामक अभिव्यक्ति जाहेर भइरहेका छन् । पूर्व श्री ५ को क्रियाकलापबाट क्रुद्ध र विचलित हुन पुगेका वामपन्थी नेताहरूले उहाँलाई कडा चुनौती दिँदै राजदरबार हत्याकाण्डको अनुसन्धान एवम् छानवीन गर्ने भनेर तर्साउने प्रयास गरेका छन् ।

संसद्मा रहेका सबैजसो दलहरू गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने स्थितिमा अहिले पनि छन् । यसबीचमा सत्तापक्ष र विपक्ष दुवैले पूर्व श्री ५ प्रति चरम आक्रोश एवम् असन्तुष्टि प्रकट गरेका छन् । यसले राजाका विरूद्ध सबै दलहरू एकजुट हुने सङ्केत दिएको छ । मुलुकमा राजसंस्था पुनर्स्थापनाका पक्षमा जनमत बढ्दै गएको पाइएपछि आफूलाई राजावादी दाबी गर्नेहरू निकै उत्साही बनेका छन् र, तिनले आफ्नो नेताको रूपमा राजा स्वयम्लाई अघि सारिरहेका छन् । सत्र वर्षअघि राजा र संसद्वादी भनिने दलहरूबीच द्वन्द्व बढ्दा मुलुकमा गणतन्त्र घोषणा हुने परिस्थिति निर्माण भएको थियो । अहिले तिनै शक्तिहरूबीच उत्पन्न भएको तनावले कस्तो परिणाम हाशील गराउने हो- चिन्ता र जिज्ञासाको विषय बनेको छ ।

राजालाई बिनाप्रसङ्ग अभिनन्दन गराउने भन्दै एकथरीले उहाँलाई गाउँ डुलाउन थालेका छन् र, स्वयम् पूर्व श्री ५ पनि हौसिएर अलिक कडा ढङ्गले प्रस्तुत हुन थाल्नुभएको छ । नेपालमा राजसंस्थाको विस्थापन नेपाली जनताका कारण भएको थिएन, त्यसमा बाह्यशक्ति निर्णायक बनेको थियो । त्यसैले गणतन्त्र घोषणाको पन्ध्र वर्षभित्र राजाबाट अनुकूल परिस्थिति निर्माणका निम्ति बाह्यशक्तिसँगको भेटघाट तथा परामर्शलाई उच्च प्राथमिकता दिनुभएको थियो । तर, अहिलेसम्मका सबै प्रयासहरू परिणाममुखी हुन नसकेपछि पूर्व श्री ५ जनजागरण अभियानमा सक्रिय हुनुभएको छ ।

हिजो राजाले सबैको विश्वास कायम राख्न नसक्दा गणतन्त्र घोषणा भएको थियो, अहिले पनि स्थितिमा तात्विक अन्तर आइसकेको बुझिन्न । दल तथा तिनका नेताहरूप्रतिको असन्तुष्टि कहिले कसरी त कहिले कसरी प्रकट हुने क्रममा अहिले राजालाई अघिसारेर प्रकट गर्ने कार्य भइरहेको छ, जुन कार्य पूर्व श्री ५ का निम्ति अत्यन्त जोखिमपूर्ण एवम् घातक हुनसक्ने सम्भावना छ ।

मुलुकको एकथरी राजनीतिक शक्तिलाई परास्त गरेर राजसंस्था पुनर्स्थापना हुन सक्छ कि सक्दैन भन्ने प्रश्न एकातिर छ भने अर्कोतिर यसरी एकथरीलाई उपेक्षा या परास्त गरेर कदाचित पुनर्स्थापना भइहालेको अवस्थामा पनि कति टिकाउ हुनसक्ला भन्ने गम्भीर प्रश्न खडा भएको छ । अन्तर्राष्ट्रिय परिस्थितिसमेत अनुकूल नबनाइकन राजाबाट दलहरूसँग पङ्गा लिने जुन स्थिति उत्पन्न भएको छ यसले अकल्पनीय घटनाको पुनरावृत्त हुने सङ्केत देखाउँदैछ । अन्तर्राष्ट्रिय शक्तिको विश्वास प्राप्त गर्न नसकेपछि राजाबाट राष्ट्रिय सहमति र समन्वयको परिस्थिति निर्माणको पहल हुनुपर्ने थियो ।

सबैको साझा बन्ने स्थिति नबनेसम्म राजसंस्था पुनर्बहालीको सम्भावना रहन्न, कदाचित पुनर्स्थापना भएछ भने पनि त्यसविरूद्ध कठोर सङ्घर्ष सुरु हुनसक्ने र, सङ्घर्षले सम्झौतामा पुऱ्याउने नभइ अर्कै अकल्पनीय घटना गराउने सम्भावना रहन्छ । अहिले नै दलहरूले दरबार हत्याकाण्डमा पूर्व श्री ५ लाई दोषी ठहर गराए भने राजाको प्रतिरक्षाका निम्ति कति मानिस सडकमा आउलान् र, त्यसपछिको स्थिति कस्तो हुनसक्ला भन्ने प्रश्नमा विचार गरियो भने एउटा भयानक दृष्य हाम्रो आँखाअगाडि देखापर्छ । त्यसैले दलहरूसँग भिड्न खोज्नुभन्दा समन्वय र समझदारीको निम्ति पहल गर्नु नै सबैका निम्ति उत्तम हुने देखिएको छ ।