१ करोड ५३ लाखबढी महसूल नतिर्ने २५३ लाइन काटिए

१ करोड ५३ लाखबढी महसूल नतिर्ने २५३ लाइन काटिए


नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले ७ सरकारी कार्यालयसहित २५३ ग्राहकको लाइन काटेको छ । केन्द्रले एक महिनाको अवधिमा १ करोड ५३ लाख रुपैयाँ भन्दा बढी महसूल नबुझाउने ग्राहकको लाइन काटेको हो ।

केन्द्रले २ महिनाभन्दा बढी बक्यौता भएका ग्राहकको लाइन काट्ने कामलाई द्रुतगतिमा अघि बढाएको जनाएको छ । ‘बारम्बार ताकेता गर्दा पनि विद्युत् महसुल नबुझाएपछि ७ सरकारी कार्यालयसहित २ सय ५३ ग्राहकको लाइन काटिएको हो’– केन्द्र प्रमुख मिथिलेशकुमार गोयलले घटना र विचारलाई बताए । उनका अनुसार उक्त ग्राहकबाट १ करोड ५३ लाख ४९ हजार ३ सय ६५ रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ ।

लाइन काटेका ग्राहकमध्ये १ सय ८० ग्राहकले जरिवाना सहित ७८ लाख ३६ हजार ४ सय ९१ रुपैयाँ महसुल बुझाएका छन् । महसूल बुझाएका ती ग्राहकका लाइन पुनः जोडिएको छ ।

यस्तै, केन्द्रले ६ लाख २ हजार ६ सय रुपैयाँ विद्युत महसुल नबुझाउने सात सरकारी कार्यालयको पनि लाइन काटेको जानकारी दिएको छ । नापी कार्यालय, अत्तरिया सडक विभाग, मालपोत कार्यालयलगायतले विद्युत महसूल नबुझाएपछि लाइन काटेको प्रमुख गोयलले जानकारी दिए । उनका अनुसार नियम विपरीत काम गरेको अथवा नियमअनुसार विद्युत् महसुल बुझाउन अटेर गरेपछि लाइन काटिएको हो ।

हाल केन्द्रअन्तर्गत ७९ हजार ग्राहक रहेका छन् । केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्दै जाने चेतावनी दिएको छ । विद्युत विनियमावलीमा मिटर रिडङ गरेको ६०औं दिनसम्म महसूल नबुझाएमा लाइन काट्ने व्यवस्था भएको प्राधिकरण केन्द्रीय कार्यालयका एक उच्च अधिकारी घटना र विचारलाई बताउँछन् ।