जुम्लामा हिमपात : किसान खुसी, हवाई सेवा अवरुद्ध

जुम्लामा हिमपात : किसान खुसी, हवाई सेवा अवरुद्ध


जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन् ।

तिला गाउँपालिमा-१ का स्थानीय बासिन्दा पार्वती बुढाका अनुसार यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो यो । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसानलाई यो हिउँले निकै राहत दिएको कृषि विकास कार्यालयले जनाएको छ ।

स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।

photo: rss